Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाको कहर : लुम्बिनी क्षेत्रमा २५ अर्बको लगानी संकटमा


    बुधबार, चैत्र २६ २०७६
    685
    Shares
  • ४ मिनेट पाठ
  • भैरहवा, २६ चैत । सरकारले गरेको लकडाउनले  गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ ।

     हाल लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी सञ्चालनमा छन् ।  यहाँका होटल तथा रेष्टुरेन्टले यस क्षेत्रमा पर्यटन विकासमा समेत सहयोग गरेको थियो । तर सरकारले जारी गरेको लकडाउनले नेपालभरका सबै होटेल बन्द भएका छन । 

    सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ ।

    होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान) का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको बताउँछन् । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पुर्‍याउने बताए ।

    तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको रु तीन अर्ब लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ ।

    दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनो समेत छ । होटेलमा मासिक रु ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउँछन् । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ ।

    मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झण्डै रु एक अर्ब लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ ।

    बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ ।

    पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ । अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । ‘सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ’, श्रेष्ठले माग गरे ।

    होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताए । नेपालको पैदलमार्ग हुँदै धेरै पर्यटक आउने बेलहिया समेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार