Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरस रोकथामको काम युद्धस्तरमा भइरहेको छः प्रधानमन्त्री


    मंगलबार, चैत्र २५ २०७६
    1.2K
    Shares
  • ६ मिनेट पाठ
  • काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसको संक्रमण, रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । केहीबेरअघि सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना महामारीका कारण आगामी दुई साता चुनौतीपूर्ण हुने कुरा पनि बताएका  छन् । 

    प्रधानमन्त्री ओलीले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा संघीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका छन् ।  उनले स्वास्थ्यकर्मीको कामको उच्च सराहना गर्दै भनेका छन्–चर्को गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहनुभएको छ ।  कोरोना रोकथाममा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा पनि उनले गरेका छन् । 

    प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन्,दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।

    – तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाइँ–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।

    – सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।

    – यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पु¥याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।
    – बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।

    – कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को ?पमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ ।
    – सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । ।मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् ? त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।

     मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । यतिबेला ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ ।

     यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ । हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण ९¥यापिड डिटेक्सन टेस्ट–आरडिटी० विधि मार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीह?को व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार