Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निजी क्षेत्रले कोरोना रोकथाममा सहयोग गरिरहेको छः स्वास्थ्य मन्त्री ढकाल


    सोमबार, चैत्र २४ २०७६
    1000
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २४ चैत । भारतमा निजी क्षेत्रले कोरोना बिरुद्ध स्थापित सरकारी कोषमा उल्लेख्य सहयोग गरिरहँदा नेपालको निजी क्षेत्र किन अग्रसर नभएको भन्ने प्रश्न उठिरहेको बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएर उनीहरुलाई अझै पनि फकाउन खोजिरहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् ।

    ‘कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ’, उनले भने, ‘हामी सबै यस अभियानमा जुट्नुपर्छ ।’ रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

    ‘अब हामीले आजदेखि कोरोना विरुद्धको अभियानको दायरा फराकिलो बनाएका छौं’, मन्त्री ढकालले भने, ‘उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राखी उपचार प्रक्रिया अघि बढाएका छौं ।’ कैलालीमा विदेशमा नगएको व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाले सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।

    सो अवसरमा नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनले थ्री एम एन ९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो ।

    नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो । फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ ।

    सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार