Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मृत्युको खेतीमा सत्ताको खेल


    सोमबार, चैत्र २४ २०७६
    735
    Shares
  • ५ मिनेट पाठ
  • राजेन्द्र अर्याल 
    कोरोना भाइरसका कारण अहिले मानवजाति र विश्व त्राहीमाम बन्दै गम्भीर संकटमा परेको छ । डढेलो जस्तो विश्वभर सल्किरहेको यो महामारीले मानवजातिको अस्तित्व नै रहने कि नरहने भन्ने संकट उत्पन्न गराइदिएको छ ।

     हालसम्म यो भाइरसका कारण विश्वमा १२ लाख भन्दा बढी मनिस संक्रमित भएका छन् भने ७० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । आउँदा दिनको कसैले अनुमान गर्न सकेका छैनन्  न त रोकथामको औषधि वा भ्याक्सिन नै पत्ता लागेको छ । स्थिति कहालीलाग्दो छ । यसबाट नेपाल पनि अछुतो छैन । पछिल्ला दिनहरुको अवस्थाले नेपालमा खराव दिन आउने संकेत गरिरहेका छन् । यो महामारीबाट बच्न र बचाउन सिंगो देश एकढिक्का भएर सामना गर्नुको विकल्प छैन ।

    कोरोना भाइरसको रोकथाम, नियन्त्रण र परीक्षणका लागी सरकार आफ्नो साधन र स्रोतले भ्याएसम्म लागिरहेको छ । तर देश महामारीले गम्भीर संकटमा परेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सत्ताको र्याल चुहाएको देखिन्छ । केही दिनपहिले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतीय सरकार बनाउनुपर्छ भन्नु र अहिले सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनावको कुरा अघि सार्नुले देश र जनता बिपत्तिमा परेको बेला कांग्रेस मृत्युको खेतीमा सत्ताको खेल खेल्न उद्यत छ भन्ने देखाउँछ । यो बिषय यतिमा मात्र सीमित देखिंदैन, राजावादीहरुले सर्वपक्षीय सरकारको माग उठाउनु र कांग्रेसले यसरी बेमौसमी बाजा बजाउनु पक्कै पनि संयोगमात्र मान्न सकिँदैन । त्यसमाथि नेकपाको यो सरकारमाथि निरन्तर नियोजित र योजनाबद्ध प्रहार एवम् आक्रमण गरी असफल सिद्ध गर्ने एकथरीको प्रयास छँदैछ ।
    यससँगै नेपथ्यमा यो सरकार ढलाउने कुराको खेतीपाती भइरहेको चर्चा पनि व्यापक छ । यसैले कांग्रेसले उठाएको बिषय गम्भीरतापूर्वक बिबेचना गर्न जरुरी पनि छ ।

    यो सरकारलाई असफल बनाउन देशी विदेशी शक्ति लागिरहेको बेला  नेकपाभित्रबाटै सरकारको चर्को आलोचना हुनु, राजावादीले सर्वपक्षीय सरकारको कुरा उठाउनु र कांग्रेसले सहमतीय र मध्यावधि चुनावको कुरा गर्नु दालमा कुछ काला है भन्ने संकेत गर्दछ । यो सरकार ढलाउन यसअघि पनि कसरत भएको नेकपा बरिष्ठ नेता माधव नेपालले सार्वजनिक गर्नुभएको छ । अहिले यस्तो महाबिपत्तिको बेला फेरि यस्तो घृणित कार्य हुनु देश र जनताका लागि दुखद् कुरा हो । यो बेलाफुटेर होइन, जुटेर कोरोनासँगको युद्ध जित्नु छ ।

    सिंगो मानवजाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने भन्ने संकट र खतरा भइरहेका बेला आफ्नै भविष्यलाई दाउमा राख्नेगरी कार्य हुनु कुनै नेता वा दलका लागि शोभनीय हुन सक्दैन । जहाँसम्म स्वास्थ्य उपकरणको बिषय छ, गल्ती भएको छ भने गल्ती गर्नेले सजाय पाउनै पर्छ । अहिले बाहिर जेजस्ता बिषय र आशंका उठेका छन् वा उठाइएका छन् ती बिषयको जवाफ जिम्मेवार ब्यक्तिले दिनै पर्दछ । गल्ती गर्नेको हिसाबकिताब हुनुपर्दछ र हुन्छ नै । तर अहिले सबै कोरोनाको बिरुद्ध लाग्नु र जुट्नु पहिलो आवश्यकता हो । अहिले दल बिशेष वा कुनै गुटको वा निहित स्वार्थपूर्ति गर्न देशलाई बन्धक र जनतालाई मृत्युको मुखमा पुर्याउने अमानवीय हर्कत गर्नु देशद्रोही र घोर जनबिरोधी कार्य हो । यसबाट सबै समयमै सचेत रहनु जरुरी छ ।

    इटली, स्पेन, बेलायत, अमेरिका, जापान, भारतजस्ता देशमा त कोरोना महामारीले तवाही मच्चाइरहेको छ । त्यहाँका सरकारी संयन्त्रलाई नै किंकर्तब्यबिमुढको अवस्थामा पु¥याएको छ भने नेपालमा यो संक्रमण फैलियो भने भयावह अवस्था हुनेछ । त्यसलाई मध्यनजर गरेर सरकारले आफ्ना कामलाई तिब्रता दिन जरुरी छ । सरकारले अहिलेसम्म जनभावना अनुसार काम गरेको छ, जुन प्रशंसनीय छ नै । छिमेकी देश भारतमा कोरोना फैलिरहँदा र त्यहाँबाट आएका नेपालीका कारण यहाँको अवस्था के हुने हो भन्ने कुराले सबैलाई चिन्तित बनाएको छ ।

    अहिले विश्व नै कोरोनाका बिरुद्ध युद्द मैदानमा होमिएका बेला सरकार सँगै हामी पनि कोरोना विरुद्धको लडाईमा छौं । यो बेला हाम्रो सबै शक्ति र सामथ्र्य एकै ठाउँमा केन्द्रित गर्नुपर्ने बेला हो यो । युद्ध हराउन वा कमजोर बनाउन जालझेल, षड्यन्त्र र कोसिस हुन सक्छन् ।  यी सबैको हेक्का राख्दै अघि बढ्नुको विकल्प छैन । तसर्थ यो आम नेपालीको अस्तित्व सुरक्षाका लागि युद्धको मैदानमा होमिएको बेला शक्ति बिन्यास र कमजोर पार्ने खेलमा नलागौं । सरकारलाई साथ दिउँ । आफू पनि बचौं र अरुलाई पनि बचाऔं । लकडाउनको पालना गरौँ, चिकित्सकले दिएको सुझाव मानौ, भयभित र त्रसित नबनौं तर होसियार, सतर्कता र सवधानी अपनाऔं । यसैमा सबैको भलो छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार