Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • तस्करी खुल्ला, डीआईजीले दिए घुमुवालाई भन्सारको ठेक्का


    मंगलबार, पुष १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलमा सादा पोशाकमा घुमुवा खटाउन नपाउने निर्देशन पालना हुनसकेको छैन । भारतसँग सीमा जोडिएका कोशी, मधेश र लुम्बिनी प्र्रदेशका जिल्लाका गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा राखी भन्सारछलीका सामान भित्र्याउन सहयोग गरी अतिरिक्त लाभ लिने गरेको आरोप छ । गण, गुल्म र बीओपीका इन्चार्जहरुको कामको अनुगमन गर्नुपर्ने प्रदेशका प्रमुख डीआईजीले नै प्रदेशका सबै सीमानाकाबाट तस्करीको लाइन दिएर उठाउन घुमुवा परिचालन गरेको आरोप छ ।

    सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेशका डीआईजी अभिकुमार खत्रीले रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके र बर्दिया जस्ता भारतसँग सीमका जोडिएका जिल्लाबाट तस्करीको लाइन चलाएबापत एकमुष्ट घुस लिने गरेको स्रोत बताउँछ । डीआईजी खत्रीले असई रामप्रसाद सापकोटालाई ५ वटा जिल्लाबाट मासिक निश्चित रकम तोकेर बुझाउनुपर्ने गरी खटाएका छन् । उनले  संगठन प्रमुखको नाममा समेत उठाउने गरेका छन् ।

    असईबाट सेवा प्रवेश गरेका डीआईजी खत्रीको जागिर अवधि सकिन लागेको छ । फेरि इन्चार्ज पाउने अवस्था नभएकाले उनले लुम्बिनी प्रदेशमा तस्करीको लाइन चलाएर कमाउधन्दा संचालन गर्न घुमुवालाई सबै नाकाबाट  दररेट तोकेर उठाउन परिचालन गरेको स्रोत बताउँछ । जागिर अवधि केही समयमात्र भएका अधिकृतलाई जिम्मवारी दिंदा उसको ध्यान तस्करी नियन्त्रणतिर भन्दा कमाउधन्दातिर जाने गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि सशस्त्र मुख्यालयले खत्रीलाई लुम्बिनीको बाहिनीपतिमा खटाएको थियो ।

    घुमुवा असई सापकोटाको बारेमा सशस्त्र मुख्यालयमा गुनासा धेरै पुगेपछि आईजीपी राजु अर्यालले निलम्बन नै गर्न निर्देशन दिए पनि डीआईजी खत्रीले संरक्षण गरेका छन् ।  पछिल्ला दिनमा भारतबाट नेपालमा केराउसमेत तस्करी हुन थालेको छ । गतबर्षसम्म तेस्रो मुलुकबाट नेपालमा आउने र यहाँबाट भारत तस्करी हुने गरेको केराउ पछिल्लो समय भारतबाट आउन लागेको हो ।

    खत्री एसएसपी हुँदा नै कर्णाली प्रदेशको निमित्त डीआईजी भएका थिए । निमित्त समेत उनी कर्णालीमा १९ महिनासम्म डीआईजी भएका थिए । एकेडेमीमा डीआईजी हुँदा चीनले निर्माण गरेको भवनका टायल समेत बिक्री गरेको आरोप उनीमाथि लागेको थियो ।

    त्यसैगरी उनले एकेडेमीमा कार्यरत हुँदा सशस्त्र प्रहरी निरीक्षक, नायब उपरीक्षक र उपरीक्षकले पाउने १० लिटर, १५ लिटर र २० लिटर इन्धनसमेत नदिई आफ्नै खल्तीमा हालेको आरोप लागेको थियो । १ बर्ष एकेडेमीमा कार्यरत उनले अधिकृतहरुले पाउने तेल सुबिधाको मात्रै लाखौं खाए । लेखापालसँग मिलेर उनले अधिकृतहरुले इन्धनबापत पाउनुपर्ने सुविधा समेत खाइदिएका थिए ।

    एकेडेमीमा सिनियर तालिम लिनेहरुलाई पढाउँदा सरकारले नै पारिश्रमिक दिने ब्यवस्था गरेको छ । सरकारले तोकेअनुसार अध्यापन गराएको पैसा दिनुपर्ने हुन्छ । तर डीआईजी खत्रीले तालिमेहरुलई पढाउनेले पाउनुपर्ने शुल्क समेत नदिएको आरोप छ । तलब पाइरहेकै छन्, किन दिनुपर्यो भनेर उनले त्यो समेत आफैं खाने गरेका थिए । उनी सशस्त्र प्रहरी बलमा भएको  आगलागी काण्डमा मुछिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार