Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूपन्देहीमा ७ वर्षीया बालिकाको हत्या


    शनिबार, पुष १४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रूपन्देहीको मर्चवारी गाउँपालिकामा ७ वर्षीया बालिकाको हत्या भएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मर्चवारी गाउँपालिका वडा नं. १ पचुवालीमा बालिकाको हत्या भएको अवस्थामा शव फेला परेको हो।

    शुक्रबार साँझ ५ बजेतिर घरबाहिर खेलिरहेकी बालिका साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले राति १० बजेतिर प्रहरीलाई खबर गरेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले खोजी गर्दै जाँदा वडा नं. १ स्थित खोल्साको पानीमा घोप्टो परेको अवस्थामा बालिकाको शव फेला परेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकका अनुसार बालिकाको हत्या गरेको आरोपमा मर्चवारी गाउँपालिका वडा नं. १ महाराजगञ्ज बस्ने ३२ वर्षीय अकबर अली पक्राउ परेका छन्।

    प्रहरीले अलीलाई हिजो शुक्रबार राति साढे १० बजेतिरै पक्राउ गरेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बालिका हराएको खबर पाएपछि खोजी गर्ने क्रममा एक जनाले साइकलमा राखेर लैजाँदै गरेको सूचना पाएपछि सोधपुछ गर्दै जाँदा अलीलाई पक्राउ गरिएको जानकारी दिए।

    पक्राउ परेका अलीले बालिकालाई साइकलमा लिएर खोलामा लगेर हत्या गरेको बताएपछि उनैको सहयोगमा घटनास्थल र शव फेला पारिएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए।

    बालिकाको शवलाई आज बिहान पौने ४ बजेतिर घटनास्थलमा फेला पारिएको र पोष्टमर्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र पक्राउ परेका अलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    अहिले बालिकाको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएकोले हत्या हुनुभन्दा पहिले बलात्कार भए/नभएकोबारे भन्न नसकिने प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार