Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एमाले टोली घुर्मीतर्फ अघि बढ्यो, तीन पहिचानवादी पक्राउ, ४२ सय सुरक्षाकर्मी परिचालन


    मंगलबार, मंसिर २६ २०८०
    710
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • विराटनगर । नेकपा (एमाले)को झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको घुर्मीका निम्ति लागेको छ । ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

    प्रदेश कमिटीका पदाधिकारी र अरू सहभागीले बहादुरेखोलामा अध्यक्ष ओलीलाई स्वागत गर्ने खतिवडाले बताए । उनले भने, “त्यसपछि घुर्मीको पारिपट्टि हर्कपुर, टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुनेछ ।”

    त्यस्तै संकल्पयात्राको आज १३औँ दिनमा कोसी प्रदेश आइपुगेको अभियानले यहाँ ६६ किमि दूरी तय गर्नेछ । यसको प्रस्थान विन्दु रामेछापको मन्थली थियो । टोलीले घुर्मीमा खाना खाने र दिक्तेलमा बस्ने कार्यतालिका छ । सभा भने घुर्मीको हर्कपुरमा गरिनेछ ।

    एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म जागरण अभियान सञ्चालन गरेको हो ।

    एमालेका स्थायी कमिटी सदस्य एवं कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले अध्यक्ष ओलीलाई स्वागत गर्न झाँकीसहितको तयारी रहेको बताए । उनले भने, “बहादुरेखोलामा स्वागत गरेपछि सभास्थलतर्फ गई कार्यक्रम सुरु गर्ने तयारी छ ।”

    कोसी प्रदेशमा पहिचानवादी पक्षधरले आजदेखि नै मध्यपहाडी (पुष्पलाल) मार्गमा बन्द आह्वान गरेको छ । अध्यक्ष ओली, नेता योगेश भट्टराई, महेश बस्नेतसहित ८२ प्रदेशसभा सदस्यविरुद्ध आफूहरूको विरोध भएको उनीहरूले बताएका छन् ।

    पहिचानवादीको विरोधसँगै घुर्मी क्षेत्रमा एकीकृत सुरक्षा योजना लागु गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका दुई हजार ४०० र जनपदका दुई हजार ८०० नेपाल प्रहरी परिचालन गरिएको छ ।

    “एकीकृत सुरक्षा अयोजनाअन्तर्गत सुरक्षा व्यवस्था चुस्त बनाइएको छ,” सशस्त्र प्रहरी बल बराह वाहिनी पकलीका डीआईजी अञ्जनी पोखरेलले भने ।

    पहिचान पक्षधरले एमालेको यात्राप्रति आफूहरूको विरोध नभएको भन्दै कोसी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता बस्नेतलाई भने सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । पहिचान पक्षधरले मंगलबार मध्यपहाडी मार्गको घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्द आह्वान गरी सांस्कृतिक अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ ।

    यसैबीच, कार्यक्रममा अवरोध गर्ने प्रयासमा रहेको आरोपमा तीन पहिचानवादीलाई प्रहरीले खोटाङको दिक्तेलबाट पक्राउ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार