Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तस्करीको लाइन दिने असई जिल्ला तानिए, कारवाहीबाट जोगिन शक्तिकेन्द्रबाट एसपीलाई दबाव


    सोमबार, मंसिर २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डौ । तस्करीको लाइन संचालन गरेको समाचार प्रकाशमा आएपछि सर्लाही जिल्लास्थित अस्थायी प्रहरी पोस्ट पेट्रोल पम्पका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामनिवास यादव जिल्ला तानिएका छन्।

    प्रसनि यादवले तस्करसँग मिलेमतोमा तस्करी गराएको र मोटो रकम उठाएको, तस्करको नाम र रकम कुन तस्करले कति महिनावारी दिने, कहिले महिना पुग्नेजस्ता विवरण लेखि राखेको उनको आफ्नै डायरीबारे समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण धितालको आदेशमा प्रसनि यादवलाई जिल्ला तानिएको छ।

    प्रसनि यादवले संगठन आचरणविपरीत काम गरेका कारण निलम्बन समेत हुन सक्ने देखेपछि उनले कारवाहीबाट जोगिन विभिन्न शक्ति केन्द्रबाट प्रहरी उपरीक्षक धिताललाई दबाव दिलाउन थालेका छन्।

    प्रसनि यादवले आफूले तस्करहरूसँग उठाएको रकममध्ये जिल्ला प्रहरी प्रमुखदेखि प्रदेश प्रहरी प्रमुखसम्म भाग पठाउने गरेकोले आफूलाई कारवाही गरे सबैको भण्डाफोर गरिदिने समेत शक्तिकेन्द्रलाई बताएको स्रोतबाट जानकारी हुन आएको छ।

    प्रसनि यादवले आफ्नो सहयोगीको रुपमा सहायक प्रहरी हवलदार राज किशोर यादवलाई घुमुवा राखेर उठन्ती कार्यमा लगाएको भए पनि सप्रह यादव भने अझै अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पमै रहेका छन्।

    आफू तानिएर जिल्ला गएका प्रसनि यादवले सप्रह यादवलाई पनि कारवाहीबाट जोगाईदिने र घुमुवाकै रुपमा राखिराख्ने आश्वासन दिएको स्रोतबाट जानकारी हुन आएको छ।

    प्रहरी आचरणविपरीत गतिविधि गरेर सिंगो प्रहरी संगठनलाई बदनाम गर्न सक्रिय प्रसनि यादव, उनका घुमुवा प्रहरी सहायक हवलदार यादवमाथि कारवाही हुने कि शक्तिकेन्द्रको दबाव अनुरूप त्यसै छोडीने हुन् ? चासोको विषय बनेको छ।

    सर्लाहीमा तस्करी र प्रहरी संगठनको आचरणविपरीत कार्य बढ्नुमा जिल्लाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजीयार र क्राइमका बरिष्ठ प्रहरी नायब निरीक्षक अरुण यादवको मुख्य भूमिका रहेको बताइन्छ।

    प्रनाउ पंजियार र बप्रनानि यादवले आफू नजिकका, तस्करसँग रकम असुल्न अनुभव प्राप्त विवादित प्रहरीहरूलाई चौकी इन्चार्जको रुपमा खटाएदेखि सर्लाहीमा प्रहरीको साख गिर्दै गएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार