Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रसुवा भन्सारबाट निर्वाध तस्करीः अर्थ र राजस्वको रहस्यमय मौनता

    भन्सार प्रमुख कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाउँदै


    शनिबार, मंसिर २३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । रसुवा भन्सारका कर्मचारीको मिलेमतोमा जाँचपास गरिसकेर काठमाडौंतर्फ हिंडेको एउटा ट्रकमा लुकाएर ल्याएको १० हजार थान भेप भन्सार विभागको टोलीले बरामद गरिसकेको छ । थप केही गाडीमा ठूलै परिमाणमा भेप लुकाएर ल्याएको सूचना विभागको अनुगमन टोलीले पाइसकेको छ ।

    रसुवा भन्सार कार्यालयका कर्मचारीकै सेटिङमा भेप तस्करी हुने गरेको प्रष्ट भइसकेपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले प्रमुखसहित चेकजाँचमा संलग्न कर्मचारीलाई निलम्बन नै गर्ने बताउँदैआएका छन् । तर रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक भने जाँचकी नायबसुब्बा लोकबहादुर बिष्ट र अधिकृत नवराज चौलागाईलाई  जोगाउने खेलमा काठमाडौंमा शक्तिकेन्द्र धाइरहेका छन् ।

    यसअघि घोषणा गरेकोभन्दा थोरै बढी सामान भेटिदा त्यही रसुवा भन्सार कार्यालयका प्रमुखसहित ३ जना कर्मचारी तानिएका थिए । तर अहिले लागूऔषध बनाउने केमिकल र भेप लुकाएर ल्याएको फेलापर्दा पनि पाठक आफू र चेकजाँचमा संलग्न कर्मचारीलाई जोगाउन चलखेलमा लागेका छन् ।

    झापाका पाठक अर्थमन्त्री डा. प्रकाशशरण महतकी पत्नी विना महतकोमा पनि आफूलाई जोगाउन धाइरहेका छन् । विना महतले प्रिपेड घुस लिएर रसुवा भन्सारको प्रमुखमा सरुवा गरिएका थिए पाठक । राजनीतिक अस्थिरताका कारण कुनै पनि बेला सरुवा हुनुपर्ने त्रासमा रहेका पाठक भेप र लागूऔषधको केमिकल भेटिए पनि रसुवा भन्सारको प्रमुखमै निरन्तरताका लागि शक्तिकेन्द्रमा धाइरहेका हुन् । उनले केही समय बस्दा नै कुस्त कमाउन भेपसहित विभिन्न सामानको तस्करीको लाइन दिएको पुष्टि भएको छ ।

    भेप तस्करीको रहस्य कसरी खुल्यो ?

    भन्सार प्रमुख पाठकलाई प्रतिट्रक दररेट तोकेर बुझाउँदै बुद्धराज बस्नेत र अरुण थापाले निर्बाध तस्करी चलाएको सूचना भन्सार विभागमा पुगेपछि महानिर्देशक पौडेलले टोली खटाएका थिए ।

    भन्सार विभागले मंसिर १३ गते अनुगमन टोली खटायो । जुन सूचना भेप तस्करी गराउने समूहलाई बिभागबाटै लिक भयो । अनुगमन टोली हिंडेको थाहा पाएपछि भन्सार जाँचपास भएर काठमाडौंतर्फ बढिसकेको ट्रक पुनः रसुवागढीतिरै फर्काइयो । टिमुरे भन्सारतिर फर्काएको उक्त ट्रक पुनः चेकजाँच गर्दा १० हजार भेप लुकाएको भेटिएको थियो । भन्सार कार्यालय रसुवाका अधिकृत नवराज चौलागाई र खरिदार लोकबहादुर बिष्टले चेकजाँच गरिसकेको ट्रकमा लुकाएर भेप ल्याएको भेटिएपछि  सो समूहका अरु थप ट्रक भन्सार विभागले निगरानीमा राखेको छ ।

    यही मौकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान १४ किलो सुन समातियो । सोही दिन बेलुका रसुवाबाट आएको २ किलो सुन नागढुंगामा बरामद भयो । यसबाट भेपमात्र होइन, सुन समेत रसुवाबाट आउने गरेको आशंका गर्ने ठाउँ पर्याप्त छ । रसुवा भन्सारबाट भेप लुकाएर ल्याउँदा समेत भन्सार कार्यालय रसुवाका कर्मचारीले छाडेकाले सुन समेत सहजै आइरहेको पुष्टि हुँदै गएको छ । ब्यापारीले तस्करी गर्ने र पैसा कमाउने उद्देश्यले शक्तिकेन्द्र मिलाउनु सामान्य हो, तर भन्सार प्रमुख नै धाउनुले भेपमात्र होइन सुन समेत तस्करी हुने गरेको आशंका गर्न थालिएको छ ।

    तस्करीको लाइन चलाउने गरी सेटिङ गरेका बुद्धराज बस्नेत र अरुण थापा भेप बरामदपछि रसुवामा सामूहिक रुपमा भन्सार विभागलाई समेत मिलाउन थप पैसा संकलनमा लागेका छन् । रसुवा भन्सारका प्रमुख पाठकलाई मिलाउँदा पनि विभागले छापा मारेपछि बस्नेत र थापाले विभाग मिलाउन भनेर थप अर्थ संकलनमा लागेको स्रोत बताउँछ ।

    बस्नेत र थापासँग २ लाखका दरले सेटिङ मिलेपछि भन्सार प्रमुख पाठकको इशारामा भन्सारका कर्मचारीले जस्तासुकै सामान राखेर ल्याइएको होस्, हेर्दैनहेरी छाड्ने गरेका थिए । जसका कारण ट्रकमा भेप भेटिएको थियो । यसरी रसुवा, भैरहवा, तातोपानी, विमानस्थल भन्सारबाट तस्करीको भेप आउँदा पनि राजस्व अनुसन्धान बिभागको मौनताको अर्थ भने बुझिनसक्नु छ । राजस्व अनुसन्धान बिभागलाई समेत तस्करको समूहले सेटिङ गरेको आशंका गरिएको छ । राजस्वको मौनताकै बीचमा भेप र सुन समेत लुकाएर ल्याइएको भेटिएपछि रसुवा भन्सार पाठक प्रमुख भएपछि तस्करका लागि स्वर्ग बनेको पुष्टि भएको छ ।

    रामप्रसाद पाठक  भन्सार कार्यालय रसुवाको प्रमुख भएपछि बुद्धराज बस्नेत र अरुण थापाले तस्करीको लाइन चलाउने सेटिङ गरेका थिए । स्रोतका अनुसार भन्सार प्रमुख पाठकसँग प्रतिगाडी दररेट तोकेरै उनीहरुले भन्सारबाट भेप लगायतका ब्रान्डेड लत्ताकपडा, जुत्ता र ड्राइफुड भन्सारछली गरी ल्याउने गरेका छन् । थापा अर्थमन्त्री डा महतका भान्जा हुन् भने बस्नेत स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतका भाइ हुन् ।

    बस्नेत र थापाकै सेटिङमा  भन्सार कार्यालय रसुवाबाट लामो समयदेखि केही ब्यापारीले तस्करी गर्दैआएका छन् ।  ब्यापारीले विगत १ बर्षमा राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालय रसुवामा सेटिङ गरी लत्ताकपडा, जुत्ता जस्ता सामानको प्रज्ञापनपत्रमा भेप भित्र्याउने गरेका छन् ।

    अर्थमन्त्रीडा. प्रकाशशरण महतले रसुवाको भन्सार प्रमुखमा प्रिपेड  लिएर पठाएको, भन्सारबाट भेपदेखि सुनसम्म तस्करी भएको र त्यसमा राजस्व अनुसन्धान विभागको मौनतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म ढंगले नियालिरहेको छ । भन्सार बिभागले भेप तस्करीको बिषयमा कार्यालय प्रमुखसहित चेकजाँचमा संलग्न तीनै जनालाई कारबाही गर्छ कि गर्दैन भन्नेबारेमा समेत आयोगले हेरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार