Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीकै आडमा तस्करी, रसुवा भन्सारबाट पास भएको गाडीमा १० हजार भेप भेटियो


    शुक्रबार, मंसिर २२ २०८०
    3.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यान राजस्व बढाउने र संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने भन्दा पनि तस्करीको लाइन खोलेर धन संकलनमा बढी केन्द्रित हुन थालेको छ ।

    अर्थमन्त्री महतले पठाएका रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक र तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले पछिल्ला दिनमा खुलेआम भन्सारछली गरी कमसल सामानको भन्सार तिरेर सामान ल्याउने, बढी ल्याएर कम घोषणा गर्ने छुट दिएका छन् ।

    रसुवा र तातोपानी भन्सारबाट इलेक्ट्रिक सिगरेट(भेप) को तस्करी ब्यापक रुपमा हुने गरेको छ । गतबर्षस्म्म चीनबाट भेप आयात गर्दा प्रतिसिगरेट १ अमेरिकी डलर भन्दा कम मूल्यांकनमा ल्याउने गरिएको थियो । तर यो आर्थिक बर्षमा भेपको प्रतिसिगरेट न्यूनतम ४ डलर कायम गरिएको छ । एकपटकमात्र प्रयोग गर्न मिल्नेको एउटाको ४ डलर, पटक पटक प्रयोग गर्न मिल्ने, स्मेल आइरहनेको ५ डलरदेखि १० डलर १५ डलर मूल्यांकन तोकिएको छ ।

    न्यूनतम ४ डलर भन्सार मूल्यांकन गरिएपछि भेप लुकाएर ल्याउने क्रम बढेको छ । रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एउटा सामान भनेर त्यसमा भेप लुकाएर ल्याउने गरिएको छ ।

    एउटा सामान घोषणा गरी त्यसमा भेप लुकाएर ल्याउँदैआएको देखिएको छ । जसको उदाहरण रसुवा भन्सारबाट पास भएको गाडीमा लुकाएर ल्याएकोे १० हजार भेप भन्सार बिभागले भेट्टाउनु नै हो ।
    मंसिर १३ गते भन्सार विभागका अधिकृत नवराज चौलागाई र नायबसुब्बा लोकबहादुर बिष्टले चेक गरेको गाडी भन्सारबाट पास भएर काठमाडौंतर्फ लाग्यो । उक्त गाडी धुन्चे आइसकेपछि भन्सार बिभागको टोली अनुगमनमा आएको सूचना पायो । गाडीमा लत्ताकपडा भनेर भन्सारबाट पास भए पनि १० हजार थान भेप लुकाएर ल्याइएको थियो ।

    भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भने–‘भेप लुकाएर ल्याएको गाडी भन्सार विभागले नियन्त्रणमा लिइसकेको छ । १० हजार भेप बरामद भएको छ । भन्सारका कर्मचारीहरुलाई सामान चेकजाँच राम्रोसँग नगरेकोमा कारबाही हुन्छ । यो गाडीमा जसले भेप लुकाएर ल्याएको छ, त्यही समूहका रसुवाबाट ल्याउन लागिएका अरु थप गाडीमा पनि बिभागको निगरानीमा छन् ।’
    भन्सार कार्यालय रसुवाका प्रमुख रामप्रसाद पाठकले भने नेपालफेससँग भन्सार विभागले गाडी नियन्त्रणमा लिएको रहेछ, भन्सारबाट पास भइसकेको गाडीमा भेप लुकाएर ल्याएको भेटिएकोबारेमा प्रतिक्रिया माग्दा विभागले प्रतिवेदन दिन्छ होला नि त मात्र भने ।

    भन्सार कार्यालयका कर्मचारीहरु भने जाँचकी बिष्ट भर्खर सरुवा भएर आएकाले उनले सबै कार्टुन हेर्न नसकेको क्यारिङवालाले फसाएको बताउँछन् । अधिकृत जाँचकीको विश्वासमा पर्दा भेप लुकाएको गाडी भन्सार पास भएको हो ।

    प्रतिगाडी २ लाख घुस !

    रसुवा भन्सारबाट लत्ताकपडा भनेर कमसल सामान भनेर बहुमूल्य सामान ल्याउने गाडीसँग २ लाखका दरले घुस संकलन गर्ने गरिएको स्रोत बताउँछ । सिन्धुपाल्चोकको बाह्रबीसेका बुद्धराज बस्नेत र नुवाकोटका अरुण थापाले प्रतिगाडी दररेट बुझाएर भेप तस्करी गर्ने गरेको आरोप छ ।

    अरुण थापा अर्थमन्त्रीका भान्जा नाता पर्ने हुन् भने बुद्धराज बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका भाइ हुन् । बस्नेत २०७४ मा माओवादीमा प्रवेश गरे पनि पछि पुनः कांग्रेसमै फर्किएका छन् । र, रसुवा भन्सारका प्रमुख रामप्रसाद पाठकसँग मिलेर तस्करीका गाडी पार गराउन सक्रिय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार