Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाको गुनासो- हामीले हजार गल्ती गरेका छौँ, जनतासँग माफी माग्नैपर्छ व्यवस्थालाई गाली नगरौँ


    बुधबार, मंसिर ६ २०८०
    865
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् ।

    उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    “वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ,” थापाले भने, “जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।”

    उनले पीडामा भएका आम मानिसलाई भड्काउने काम भइरहेको बताए ।

    “यसलाई संगठित गरेर दुरुपयोग गर्ने प्रयास हुनेछ,” उनले भने, “०५९ असोज १८ गते तत्कालीन राजाले आफ्नो शासन हातमा लिनुभयो । लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउनुभयो त्यसबेला पनि काठमाडौंमा दीपावली भएको थियो । ठिक गर्नुभयो महाराज ! यिनको चरित्र र व्यवहारले दुःख पाएका थियौँ भनेका थिए । त्यही भन्ने मान्छे ०६२ चैतमा गणतन्त्र जिन्दावाद भन्दै सडकमा आयो । यसको उत्तर नखोजीकन जिम्मेवार कार्यकर्ताले गलत कुरा गर्न मिल्दैन । यसलाई पर्गेल्न चिन्तन गर्नुपर्छ ।”

    उनले पार्टीका नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाइएको बताए ।

    “हामीले गल्ती गरेका छौँ हजारपटक जनतासँग माफी माग्नुपर्छ,” थापाले भने, “०५१ मा मध्यावधिमा नगएको भए माओवादी आउँदैनथ्यो । माओवादीको कारणले देशको १५ वर्ष खेर गएको छ । अनावश्यक युद्ध भयो । यही व्यवस्थामा आउनु थियो भने युद्ध किन ? हामीले ०५६ मा बहुमत पायौँ थेग्न सकेनौँ । छलफल गर्नुपर्छ । कसैलाई दोष दिएर हुँदैन । हामीले गरेको गल्तीको भारी बोक्न तयार हुनुपर्छ । हामीले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन खोज्यौँ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार