Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी प्रदेश: भागवण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र


    शनिबार, कार्तिक २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा टुंगो लगाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति स्रोतले जनायो।

    मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका अनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिनेछ ।

    ‘जसपाले नआउने बताए पनि गठबन्धन दल भएका कारण एउटा मन्त्रालय राख्ने सहमति छ’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘तिहार र छठपछि सरकार विस्तार हुन्छ, जिम्मेवारी बाँडफाँड पनि हुन्छ ।’

    २७ असोजमा मुख्यमन्त्री नियुक्त कार्कीको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट शमशेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु बिना विभागीय मन्त्री छन् ।

    नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तिहार र छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए ।

    प्रादेशिक निकायमा पनि सहमति

    सत्तारुढ गठबन्धन दलबीच प्रदेशिक निकायमा पनि भागवण्डा मिलेको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश खेलकुद वोर्डमा पनि सहमति भएको छ ।

    उक्त सहमति अनुसार कांग्रेसको भागमा परेको प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भइसकेका छन् ।

    प्रदेश लोकसेवा आयोग नेकपा माओवादी केन्द्रको र प्रदेश खेलकुद बोर्ड नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । लोकसेवा आयोगका अध्यक्षसहित पदाधिकारीको म्याद मंसिर तेस्रो साता सकिदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार