Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका कर्मचारीको जम्बोटोली मुस्ताङ सयरमा, सरकारी कोषको दुरुपयोग


    बुधबार, कार्तिक २२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेश प्रमुख कार्यालयको जम्बो टोली अहिले मुस्ताङ सयरमा छ । निमित्त सचिव धर्मा अर्याल बेलबासेको नेतृत्वमा कर्मचारीको १३ सदस्यीय टोली प्रदेशको अनुभव आदानप्रदानका नाममा गण्डकी प्रदेश प्रमुख कार्यालयमा टेकेर मुस्ताङ भ्रमणमा निस्किएको हो ।

    प्रदेशसँगको भगिनी सम्बन्ध स्थापना गर्नका लागि लुम्बिनी प्रदेशको टिम गण्डकी प्रदेश प्रमुख कार्यालय पुगेको दाबी गरिएको छ । आश्चर्यको विषय त के छ भने दुवै कार्यालयका कर्मचारीको भेटघाटपछि संघीयताको कार्यान्वयन सकारात्मक सन्देश प्रवाह भएको दाबी दुवै पक्षले गरेको गण्डकी प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीले बताएका छन् ।

    अनुभव आदानप्रदानका नाममा सरकारी ढुकुटी रित्याएर निस्केको लुम्बिनी प्रदेश प्रमुख कार्यालयका कर्मचारीलाई गण्डकी प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गर्नुका साथै सरकारी मेजमानी गराएका छन् ।

    प्रदेश प्रमुख कार्यालयको भूमिका नभएको, खारेजीको माग उठिरहेको अवस्थामा कर्मचारीहरु भने सरकारी भ्रमण गरेर ढुकुटी रित्याउन तल्लीन रहेका छन् । बुधबार टोली मुस्ताङ पुगिसकेको छ । केही कर्मचारीले आफ्ना परिवारका सदस्यलाई समेत भ्रमणमा सामेल गराएका छन् । प्रदेश प्रमुख कार्यालयको काम भनेको प्रदेश सरकारले ल्याएका विधेयक प्रमाणीकरण गर्ने, मुख्यमन्त्री र मन्त्रीहरुको सपथ गराउने बाहेक कुनै औपचारिक काम छैन ।

    सचिवको नेतृत्वमा करिब दुई दर्जन कर्मचारीहरु कार्यरत रहेको उक्त कार्यालयमा प्रदेश प्रमुखको सुरक्षाका लागि दुई दर्जनको जम्बो सुरक्षा फौज खटाइएको छ । कार्यालयको बजेटमा टिओ लिएर १३ सदस्यीय कर्मचारी मण्डल भ्रमणमा निस्किएपछि कार्यालय लगभग रित्तो हुन पुगेको छ । सहसचिवको दरबन्दी रहेको उक्त कार्यालय अहिले उपसचिवले निमित्त सचिवको जिम्मेवारीमा छिन् । उनैको नेतृत्वमा भ्रमणमा निस्किएको टोलीमा सूचना अधिकारी सुरेश भूसाल लगायत कार्यालय सहयोगीसमेत सामेल छन् ।

    जाजरकोट र रुकुम पश्चिमलाई तहसनहस बनाएर गएको भूकम्पको विनासपछि राज्यका सबै औपचारिक कार्यक्रमहरु प्रायः स्थगित छन् । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण भूकम्पकै कारण रोकिन पुगेको छ । तर जिम्मेवार कार्यालयका कर्मचारीहरु भने हुलै बाँधेर राज्यको ढुकुटी रित्याएर मुस्ताङमा के अनुभव साटासाट गर्दैछन् त्यसले थुप्रै प्रश्न उठाएको छ ।

    भूकम्पपछिको राहत र पुनस्र्थापनाका लागि कर्मचारीहरुले पनि आफ्नो तलब सुविधाबाट राज्यलाई सहयोग गरिरहेका छन् । तर, लुम्बिनी प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरु भने कार्यालयको बजेटमा घुमघाम गर्दैछन् ।

    भ्रमणको खर्च भुक्तानीमा सहजता होस् भनेर प्रदेश प्रमुखको कार्यालयका लेखाका कर्मचारीलाई पनि समावेश गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार