काठमाडौं, २१ चैत । एक अनलाइनको समाचार हटाएको बिषयमा जारी गरेको प्रेस विज्ञप्तिका कारण नेपाल पत्रकार महासंघ विवादमा परेको छ । काठमाडौं प्रेस डटकम र त्यसको कुनै समाचार हटाइएको भन्ने बिषयमा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टको नाममा बिहीबार जारी विज्ञप्ति विवादमा परेको हो । काठमाडौं प्रेस डटकमले समाचार हटाइएको बिषयमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई आरोपित नै नगरेको बिषयमा महासंघले विज्ञप्तिमा उहाँहरुको नाम मुछेपछि विवादमा परेको हो ।
काठमाडौं प्रेस डटकमले प्रधानमन्त्रीका विज्ञान प्रविधि सल्लाहकार असगर अली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र मुख्य सल्लाहकार बिष्णु रिमालका छोराहरु स्वास्थ्य उपकरण खरिदमा मुछिएको ठोकुवा गर्दैै समाचार पोष्ट गरेको थियो । सो समाचार उक्त अनलाइनको डिजाइनर सिरान टेक्नोलोजी प्रालिले हटाएको कुरा स्वीकार पनि गरिसकेको छ ।
काठमाडौं प्रेस डटकमको प्रकाशक डेमोपब्लिक मिडिया प्रालिले पनि सिरान टेक्नोलोजीले नै समाचार हटाएको बिषय उल्लेख गरी बिहीबार विज्ञप्ति प्रकाशित गरेको थियो । तर पत्रकारहरुको छाता संस्था महासंघले झगडियाले नै आरोपित नगरेका पात्रहरुलाई मुछेर विज्ञप्ति प्रकाशित गरेको छ । जबकि महासंघले झगडियाले नै आरोप लगाए पनि बुझेर मात्र विज्ञप्ति जारी गर्नुपर्ने हो, तर झगडियाले नै आरोप नलगाएको बिषयमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार र प्रेस सल्लाहकारले समाचार हटाउन लगाएको भन्दै ठहर गरेर विज्ञप्ति निकालेको छ । यो विज्ञप्तिले पत्रकार महासंघ अमूक राजनीतिक पार्टीको गोटीमा परिणत भएको महसुस आमपत्रकारहरुले गरेका छन् ।
महासचिव रमेश बिष्टले जारी गरेको विज्ञप्ति प्रकरणले महासंघभित्रै विवाद उत्पन्न भएको छ । केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले उक्त विज्ञप्तिप्रति असहमति जनाएका छन् । उनले भनेका छन्– पत्रकार महासंघले हिजो प्रकाशन गरेको विज्ञप्तिको भाषाप्रति मेरो गम्भीर असहमति छ । विज्ञप्तिमा बेबसाइड नै ह्याक गर्ने डेभलपरलाई निर्दोष सिद्ध गर्न खोज्दै प्रधानमन्त्री र उहाँको टिमलाई दोषी प्रमाणित गरिएको छ, यसमा नियत सफा देखिएन । पत्रकार महासंघभित्र राजनीति गर्नुहुन्न । पत्रकारिताको हित बाहेक राजनीति गर्ने प्रयास हुन्छ भने त्यसको सामना गरिन्छ र गर्नुपर्छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसँग महासचिव रमेश बिष्टले जारी गरेको विज्ञप्ति प्रकरणबारे जानकारी लिन पटक पटक सम्पर्क गर्दा पनि बिहीबारदेखि नै उहाँको मोवाइल स्वीचअफ छ ।
यसरी महासंघले लगाएको आरोपलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खारेज गर्नुभएको छ । थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–पत्रकार महासंघको वक्तव्य सरासर झूट, बेइमानीपूर्ण र तथ्यहीन रहेको स्पष्ट छ । र, यसबारेमा निम्न तथ्य थप प्रष्ट गर्दछौंः
१. स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा जे निर्णय भएको थियो वा छ, त्यसको स्पष्ट जवाफदेहिता बहन गर्ने निकाय र अधिकारीहरू संलग्न नै छन् । त्यसमा सम्माननीय प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरू वा उहाँहरूका सरोकार नै नभएका छोराहरूलाई जबर्जस्ती र तथ्यहीन ढंगले तान्ने र बदनाम गर्ने षड्यन्त्रपूर्ण चालबाजी, उपक्रम र रवैया खेदजनक छ । यसको जति भत्र्सना गरे पनि कम हुन्छ । यस षडयन्त्रमा को संलग्न छन् ? यो सब किन गरिएको छ ? ककसले यसमा लगानी गरेका छन् ? ककसको शुरूदेखि अन्तिमसम्म नै सक्रियता र दौडधुप छ ? यो कुनै लुकेको कुरा छैन र हामी राम्रो जानकारी राख्दछौं । यसमा प्रधानमन्त्रीको सचिवालयका हामी र असम्बन्धित सन्तानहरू समेतलाई तानेर दुष्प्रचार गर्नुको नियत बुझिएकै छ । हामीलाई षडयन्त्रकारीहरूजस्तै यस्ता हरकतहरूको पछाडि लाग्ने कुनै फुर्सद छैन । बरू आफ्ना नियमित र परिभाषित कार्यमा व्यस्त रहेको पनि स्पष्ट गर्न चाहन्छौं ।
२.पत्रकार महासंघले उक्त समाचार हटाउन राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले दबाब दिएको भनेर वक्तव्यमा जसरी भनेको छ, त्यसमा कुनै सत्यता छैन, बरू अत्यन्त हास्यास्पद र गैरजिम्मेवार छ । यो छाता संस्थाको गुटगत र निहीत स्वार्थमा नांगो दुरूपयोग मात्रै हो ।
३. मैले काठमाडौ प्रेसका प्रधानसम्पादक कसमस विश्वकर्माजीसँग टेलिफोनमा कुरा गरेको थिएँ र समाचारमा उपप्रधानमन्त्री र मुख्य सल्लाहकार अथवा जोसुकैका बारेमा लेख्न पनि तथ्य र प्रमाण नै चाहिन्छ, अझ राज्य संचालनसँग कुनै सरोकार र मतलब नभएका तथा स्वास्थ्य उपकरण खरिदसँग केही चासो र जानकारीसमेत नभएका उहाँहरूका छोराहरूलाई जोडेर संप्रेषित समाचारको परपीडनकारी उद्देश्यबारे चासो अवश्य राखेको थिएँ । मैले समाचार हटाउनेबारे कुनै कुरासम्म कहिल्यै गरेको नै थिइनँ । बरू यस षड्यन्त्रका संलग्न व्यक्तिहरू, तिनको उद्देश्य र विषयवस्तुबारे कुराकानी भएको हो । भोलिपल्ट समाचार हेर्दा हटेको देखेपछि कसमसजीलाई नै किन क्षमायाचनाको सार्वजनिक सूचना नगरी हटाउनुभयो भन्ने जिज्ञासा मैले नै राखेको थिएँ । उहाँले कसरी हट्यो बुझ्दैछु भन्नुभएको थियो । मुख्य सल्लाहकारज्यूको त कसैसँग यसबारेमा टेलिफोन संवादसम्म भएको छैन ।
४. अनि हामीले कसरी श्रव्य वा दृश्य, मौखिक वा लिखित र टेलिफोन कुन माध्यमबाट कसलाई दबाब दियौं ? यसको प्रमाण प्रस्तुत गर्न, अन्यथा छायाँयुद्धको तथाकथित मोर्चा सिर्जना गर्ने दाउपेच, षड्यन्त्र र भ्रमको खेतीमा नलाग्न समयमै सचेत गराउन चाहन्छौं।
५.पत्रकार महासंघ अहिले त्यहाँ कार्यरत पदाधिकारीहरूको मात्र संगठन होइन । त्यसमा हाम्रो रगत, पसिना र उर्बर युवावय समय लगानी भएको छ । आज त्यसको नेतृत्वमा रहेका कोही व्यक्तिभन्दा हामीले स्वतन्त्रताको संघर्षमा कम योगदान गरेका छैनौं । र, कसैले हामीलाई स्वतन्त्रताको शिक्षा दिने धृष्टता पनि गरिरहनु आवश्यक छैन । सबैका खुट्टी र हैसियत देखेरै हामी यहाँ क्रियाशील छौं । खासमा यो सबै सदस्यहरूको संगठन हो । र, कार्यकाल सकिएर महाधिवेशनको सम्मुखमा उभिएको यस संगठनको लेटरप्याड र संस्थागत हैसियत दुरूपयोग गरी आफ्ना आकांक्षाहरूको तुष्टिकरणमा नलाग्न संलग्न व्यक्तिहरूलाई समयमै सचेत हुन र अविलम्ब माफी माग्न ध्यानाकर्षण गर्दछौं ।
६. अहिलेको स्वतन्त्रता, संविधान र राज्य संरचना हामी स्वयंले पनि संघर्ष गरेर स्थापित गरेको तथ्य सम्बद्ध सबैको जानकारीका लागि विनम्रतापूर्वक राख्न चाहन्छौं । हामी अरूले स्थापना गरिदिएको राज्य प्रणालीका उपभोक्ता भएजस्तो व्यवहार गर्ने र हावामा मुक्का चलाएर हिड्ने धृष्टता कसैबाट पनि नगरियोस् । हामी तथ्यको आधारमा सत्यको पक्षमा निरन्तर लडाई गरेर नै समाजलाई स्वच्छ, पारदर्शी अझ लोकतान्त्रिक, न्यायपूर्ण र समानतामा आधारित बनाउन राजनीतिमा सक्रिय नै छौं । जोकसैका अनुचित आरोप, दुष्प्रचार र षडयन्त्रको विधिसम्मत मुकाबिला गर्न हामी सक्षम पनि छौं । कुनै गलत र षडयन्त्रपूर्ण तौरतरिका वा बलप्रयोगप्रति हाम्रो कहिल्यै पनि विश्वास रहेन र छैन । त्यस्तो तरिकाले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कसैलाई लागेको छ र त्यही दुर्नियतका साथ यो सबै गरेर हामीलाई अनावश्यक विवादमा तान्ने वा आफ्नो करियर बनाउन तल्लीन राजनीति वा यस्ता कुनै सार्वजिक जिम्मेवारीसँग हाल शतप्रतिशत नै सरोकार नराख्ने छोराहरूलाई मुछ्ने षड्यन्त्रमा मतियार नबन्न सबैलाई अनुरोध गर्दछौं ।
७. राजनीतिमा सक्रिय सबैका सन्तानहरू बिग्रेका छन् र बाबुआमाको हैसियत दुरूपयोग गर्न लागिपरेका छन् भन्ने गलत बुझाइका साथ रचिने हरेक षड्यन्त्रहरूको पर्दाफास गरिनु र नांगेझार हुनु अनिवार्य छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend