काठमाडौ ।चन्द्रागिरि नगरपालिकाले ज्याला मजदुर तथा कोठामा बस्ने परिवारको लागि राहत प्याकेज ल्याएको छ । नगरपालिकाको कार्यपालिका बैठकले पहिलो चरणमा १ देखि १५ वटै वडाका व्यक्तिहरूको व्यक्तिगत फारम भरी नामावलीमा संकलनसहित राहत दिने निर्णय गरेको हो।
नगरपालिकाको प्रवक्ता हरिभक्त महर्जनले विश्व महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण लकडाउनले गर्दा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरूको अवस्था निकै दयनीय भएको गुनासो आएपछि नगरपालिकाले उक्त निर्णय गरेको जानकारी दिए।
प्रवक्ता महर्जनका अनुसार घरभाडामा बस्ने र दैनिक ज्याला मजदुरी गरी खान्नु पर्ने व्यक्तिहरूको प्रत्येक वडाहरूबाट लगत संकलन गरी घरधनीको नाम मोबाइल नम्बर र नागरिकताको नम्बर वा फोटो कपिसहित विवरण उपलब्ध भएपश्चात् राहत प्याकेज उपलब्ध गराइने बताए।
नामावली प्राप्त भएपश्चात् सम्बन्धित वडाहरूबाट नै उक्त राहत प्याकेज उपलब्ध गराइने छ।
नगरपालिकाको अनुसार उक्त प्याकेजमा ३ जनासम्मको परिवारलाई १० केजी चामल सोभन्दा माथिले १५ केजीका दरले प्राप्त गर्नेछन्।
प्याकेज अनुसार दाल १ केजी,नुन एक प्याकेट,तेल १ लिटर,चिनी १ केजी,चिउरा २ केजी सावुन २ वटा प्रदान गरिने छ।