Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा राहत बितरण सुरु, चामलसहितको खाद्यान्नको प्याकेट दिइने


    बिहिबार, चैत्र २० २०७६
    635
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, २० चैत । काठमाडौं महानगरपालिकाले राहत वितरण शुरु गरेको छ । एक जना विपन्नका लागि चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी वितरण गरिनेछ ।

    दुईदेखि चार जनाको परिवारलाई १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । त्यस्तै पाँच जनाभन्दा धेरै परिवारलाई १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र तीन किलो तरकारी छ ।

    कामपाले तयार गरेको ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड २०७६’मा व्यवस्था भएअनुसार राहत वितरण शुरु गरेको हो । त्यसैगरी ललितपुर महानगरपालिकाले पनि राहत बितरण सुरु गर्ने भएको छ ।

    मापदण्डअनुसार अति विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ ।
    कामपाले वडास्तरीय समितिले केही साना वडाको परिवारलाई राहत वितरण शुरु गरिसकेको छ भने बाँकी वडाको हकमा केही दिनभित्र तथ्याङ्क संकलन गरी राहत वितरण गर्नेछ ।

    राहतमा सबै सामग्री भएको प्याकेट व्यवस्था गरिएको छ । सो प्याकेट एक साताका लागि भएको कामपा प्रशासन महाशाखा प्रमुख नमराज ढकालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केही वडाले राहत वितरण शुरु गरेको र केहीले फारम भर्ने काम गरिरहेका छन् । सरकारले एकसाताका लागि लकडाउन थप गरेको कारण उक्त सामग्री एक साताका लागि मात्रै भएको उहाँको भनाइ छ ।

    कामपाका मेयर विद्यासुन्दर शाक्यले दैनिक ज्यालादारीमा रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खानकै लागि समस्या पर्ने भएकाले समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘राहत विवरण गर्न समिति गठन गरिसकेको छ । महानगरले केही दिनभित्र राहत बाँढ्नेछ । राहत वितरण गर्न ठूला वडालाई चार, मझौलालाई तीन र सानो वडालाई दुई लाख रुपियाँ उपलब्ध गराएको छ ।’

    मापदण्डले महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्ति उल्लेख गरेको छ ।

    आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौ धौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

    दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिबाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिकरुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने कामदार तथा मजदुर उल्लेख छ । तर काठमाडौंमा घर जग्गा भएका वा नभएका बेरोजगार युवालाई यो मापदण्डले समेट्दैन ।

    मापदण्डअनुसार वडाले राहत वितरण गर्न तयार विवरणमा नाम समावेश भएका परिवारलाई राहत दिनुपर्नेछ । यसबाहेक वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार