Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय सीमा नाकामा अलपत्र हजारौं नागरिकको चित्कार किन सुनिंदैन ?


    बुधबार, चैत्र १९ २०७६
    1.6K
    Shares
  • ४ मिनेट पाठ
  • माधव पौडेल

    काठमाडौं, १९ चैत । सरकारले अष्ट्रेलिया र न्यूजिल्याण्डका नेपालीको उद्दारका लागि आज वाइडबडी विमान पठायो । अमेरिका र बेलायतका केही नेपालीले स्वदेश फर्कन पाउनुपर्ने कुरा उठाउँदा राष्ट्रपति विद्या भण्डारीले पनि त्यसलाई सम्बोधन गरेको कुरा सार्वजनिक भएको छ । तर एक सातादेखि भारतबाट फर्किएर सीमानाकामा अलपत्र परेका नेपालीलाई स्वदेशभित्र प्रवेश समेत नदिई भोकै अलपत्र पारिएको कुरामा राज्यको ध्यान पुग्न सकेको छैन । यहीँ सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिई क्वारेन्टाइनमा राख्नुपर्ने दायित्व पूरा नगर्ने सरकारले सात समुद्र पारीका केही नेपालीको चिन्ता प्रकट गरेको छ । 

    \"\"

    नदीमा हाम्फालेर नेपालतर्फ आएका खत्रीलाई नांगै बनाइएको दृश्य ।

     

    कोरोना भाइरसको संक्रमण फैलिएपछि छिमेकी मुलुक भारतका विभिन्न राज्यमा ज्याला मजदुरी गर्न गएका नेपाली दाजुभाइ स्वदेश फर्कनबाट बन्चित भएका छन् । भारतबाट आउने नेपाली सीमानाका बन्द हुँदा अलपत्र परेका छन्, भोकभोकै खुला सडकमा रात बिताउन बिबश छन् ।

     सीमानाका बन्द भएपछि सोमबार बैतडीको डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री र अर्का एक जना नेपाली महाकाली नदी पौडिएर पार गरी नेपाल आएका हुन् । नेपाल प्रवेश गर्ने पुल बन्द हुँदा सीमामा रहेका उनी पौडी खेलेर नेपाल आएका हुन् । भारतीय भूमिमा भोकै मर्नुभन्दा आफ्नै देशको नदीमा डुबेर मर्छु भनेर हाम्फालेर आएकाहरुलाई पनि स्थानीयले नांगेझार बनाएको तस्वीर सार्वजनिक भएको छ ।

    भारतबाट आफ्नो देश फर्कन समेत नपाएर हजारौं नेपाली पूर्वपश्चिम सीमा नाकामा ‘हामी क्वारेन्टाइनमा बस्छौं, स्वदेश फर्कन पाउँ’ भन्दैआएका छन् । तर उनीहरुको चित्कार सरकारले सुन्दैन, उल्टै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा नाकामा अलपत्र नेपालीलाई अहिले फर्काउन नसक्ने जवाफ दिन्छन् ।

    \"\"कन्चनपुरको सीमामा अलपत्र नेपाली ।

     

    भारतमा मजदुरी गर्न गएकाहरु कामबाट पनि निकालिए, बसिरहेको डेरामा बस्न पनि नदिइएपछि आफ्नो देश र घरमै फर्कन लागेका हुन् । चीनको वुहानबाट सरकारले १३ करोड खर्च गरी १ सय ७५ जनाको उद्दार गरेको थियो । तर भारतको सीमाक्षेत्रमा हजारौं अलपत्र हुँदा पनि सरकार सुनेको नसुन्यै गरिरहेको छ । चीनको वुहानमा यो देशका पहुँचवालाका छोराछोरी र आफन्त थिए त्यही भएर सरकारले १३ करोड खर्च गरी विमान नै पठाएर उद्दार गर्यो । तर भारतमा ज्याला मजदुरी गरी फर्किएर सीमामा अलपत्र परेका ती गरिक र दीनदुःखीका त कोही मन्त्री, नेता, उच्चपदस्थ अधिकारी वा पत्रकार आफन्त छैनन्, जसले उनीहरुको चित्कार सरकारको कानसम्म पु¥याइदेओस् । 

    अमेरिका, बेलायत सहित यूरोपका देश र अष्ट्रेलियामा पनि यो देशका सम्भ्रान्त बर्गका आफन्तहरु छन् । नेता, मन्त्री, ब्यूरोक्र्याटस् अर्थात् पहुँचवालाका छोराछोरी छन् । त्यही भएर उनीहरुको पुकार सरकार र राष्ट्रपतिसम्म प्रतिध्वनित भएको छ । त्यही पुकारा सुनेर करोडभन्दा बढी खर्च गरी आज नेपाल वायुसेवा निगमको जहाज अष्ट्रेलिया जाँदैछ । तर ती भारतको सीमानाकामा अलपत्र हजारौं ती गरिबको चित्कार राष्ट्रपति त परको कुरा सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको कानमा पनि सुनिएको छैन ।

    सामाजिक संजाल फेसबुकमा टीआर खतिवडाले लेखेका पनि छन्–‘हाम्रो सरकारलाई अमेरिका, अष्ट्रेलिया, चाइना र युरोपमा भएकाको चिन्ता लाग्यो तर भारतबाट बेरोजगार भएपछि हिंडेर बोर्डरसम्मै आएर रोएका नेपाली जनता र हस्पिटलको बेडमा उपचार नपाएका जनताको आँशु र चित्कार सरकारको आँखा र कानमा पुगेन ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार