Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • वैदेशिक रोजगारीका नाममा बढ्दो ठगी


    शुक्रबार, भाद्र २९ २०८०
    955
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने कार्य दिनप्रतिदिन बढ्दो रहेको छ। त्यस्तै केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।

    गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैङ्क खातामा पैसा मागेको पनि भेटियो ।” उनका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरू अहिले कानुनी कारबाहीको दायरामा छन् । दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले रु ११ लाख गुमाए । आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै रु ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक रु दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो ।

    यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन् । यी घटनाहरू पछिल्ला एक साताका हुन् । यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ । सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन् । वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरू छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो ।

    पछिल्ला समयमा वैदेशिक रोजगारीका नाममा दैनिक जसो नै मानिसहरू ठगिएका घटनाहरू देखिएको छ । यो क्रम विगतका वर्षहरूभन्दा बढ्दो क्रममा रहेको छ। त्यस्तै अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रूपमा बढिरहँदा यसतर्फ प्रथमतः नागरिक आफैँ सचेत हुनुपर्ने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार