एजेन्सी
बेइजिङ, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वब्यापी रुपमा पार्ने आर्थिक र सामाजिक प्रभावबारे एक रिपोर्ट सार्वजनिक गर्दा उनले उक्त कुरा उल्लेख गरेका छन् ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक अझै नियन्त्रणभन्दा टाढा रहेको बताएका छन् ।
कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् । अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन् ।
चीन, दक्षिण कोरिया, सिंगापुर आदि देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको विवरण आइरहेको समयमा डब्लुएचओका अधिकारीको यो भनाइ सार्वजनिक भएको हो । चीनमा पछिल्ला केही हप्ता नयाँ संक्रमण पुष्टि नगन्य मात्रामा आए पनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने संक्रमित संख््या बढ्ने क्रममा रहेको छ ।
चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै संक्रमितको संख्या करिब शून्यमा झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।