काठमाडौं, १८ चैत । सरकारले कृषि तथा पशुपंछी विकास मन्त्रालयको सचिवमा राजेन्द्रप्रसाद भारीको पदस्थापन गरेको छ । भारीलाई आइतबारको मन्त्रिपरिषद बैठकले सचिवमा बढुवा गरी कृषि मन्त्रालयमा पदस्थापन गरेको हो । भारी सहसचिव बढुवा भएको ९ बर्ष भयो । र, उनी ९ बर्षदेखि नै विगतमा सुदूरपश्चिम र हाल कर्णाली प्रदेशको भूमिब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत थिए ।
डा. युवकध्वज जीसी संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठनमा जागिर खान गएकोले उनले माघमा राजीनामा दिइसकेपछि कृषि सचिव पदरिक्त थियो । गएको फागुनदेखि कृषिको निमित्त सचिवको जिम्मेवारी बरिष्ठ सहसचिव सबनम शिवाकोटीले पूरा गर्दैआएकी थिइन् ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण र त्यसपछि कोरोनाको महामारीले मन्त्रिपरिषद बैठक बस्न नसकेका कारण सचिव बढुवा सिफारिस भएपनि निर्णय हुन सकेको थिएन । आइतबार बसेको बैठकले सिफारिस भएका तीन सहसचिवमध्येबाट भारीलाई सचिवमा बढुवा गरी कृषि मन्त्रालयमै पदस्थापन गरेको छ । बढुवाका लागि सिफारिस भएका अरु दुई सहसचिव डा. योगेन्द्रकुमार कार्की र कृष्ण आचार्य थिए । कार्की बागमती प्रदेशका भूमिब्यवस्था तथा कृषि मन्त्रालयका सचिव हुन् । आचार्य वन मन्त्रालयमा कार्यरत छन् ।