Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा रोकिएन तस्करी, एसपी भारतीको सेटिङमा डीआईजी मौन


    सोमबार, साउन २९ २०८०
    3.7K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • लहान । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पद सम्हाल्नासाथ सादा पोशाकका घुमुवा परिचालन नगर्ने परिपत्र गरे । महानिरीक्षकले परिपत्र गरे पति त्यसको अवज्ञा गर्दै मातहतका बाहिनी, गण र गुल्मबाट सादा पोशाकमा घुमुवा परिचालन भइरहेको छ । बाहिनी, गण, गुल्म र बीओपीका इन्चार्जहरुले लामो समय काम गरेका घुमुवा खटाएर भन्सारछली तस्करी गर्नेहरुसँग सेटिङ मिलाउने गरेको आरोप छ । घुमुवा परिचालन गरी तस्करहरुसँग सेटिङ मिलाएर भन्सारछलीका सामान ओसारपसार गर्नेमा सशस्त्रको ७ नम्बर गण सिरहा पर्दछ । राजस्व असुली नै लक्ष्य अनुसार नहुनुमा तस्करी नै मुख्य कारक मानिएको छ ।

    सशस्त्रको ७ नम्बर गण सिरहाका गणपति (एसपी) प्रमोद भारतीले सिरहाका सेटिङ गरी प्रत्येक नाकाबाट तस्करीको लाइन चलाएको आरोप छ । एसपी भारतीमाथि नयाँ घुमुवा खटाएर तस्करी तीब्र परेको आरोप लागेको छ । एसपी भरतीले सशस्त्र प्रहरी बल सुरक्षा बेस सुखिपुरमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक(सई) बद्रीनाथ देबकोटाको कमाण्डमा घुमुवा परिचालन गरेको स्रोतको दावी छ । सई देबकोटाको दरबन्दी मधेश प्रदेश बाहिनी बर्दिबासमा रहे पनि तस्करहरुसँग राम्रो सम्बन्ध र एसपी भारतीको बिश्वासपात्र रहेका कारण सिरहामै घुमुवाका रुपमा परिचालित छन् ।

    भारतीले तस्करीको लाइन मिलाउन सई देबकोटाको कमाण्डमा बिकास मण्डल, लालदेब ठाकुर, राजेन्द्र यादब, रबिन्द्र सिंहलगायतका घुमुवा टोली परिचालन गरेका छन् । यी घुमुवाले जिल्लाका बिभिन्न नाकाबाट हुने भन्सार छलीका सामान ओसारपसारमा संलग्न तस्करहरुसँग निरन्तर सम्पर्कमा बसेर अबैध रकम उठाउने गरेको आरोप छ ।

    सिरहाको ४६ किलेमिटर सीमा नाकामा पाँच वटा बीओपी र दुईवटा प्रस्तावित गुल्म रहेका छन् । सशस्त्र प्रहरी बल, नेपाल (प्रस्तावित सीमा सुरक्षा) गुल्म इनर्बा, ठाडीका डीएसपी दीपेन्द्र थापाले प्रवीण यादबलाई घुमुवाका रुपमा परिचान गरेका छन् । त्यस्तै प्रस्तावित सीमा सुरक्षा गुल्म, माडरमा पूर्णदेब महतोलाई घुमुवाका रुपमा परिचालन गरिएको छ ।

    यसैगरी बिओपी नवराजपुरमा कार्तिक यादब, बरियारपट्टिमा इन्स्पेक्टर किसन थापाले आफैं तस्करहरुसँग सेटिङ गर्ने गरेका छन् । इटाटार र लगडीमा क्रमशः उमेश काफ्ले र मदन गोले घुमुवा नै नराखी आफैं तस्करसँग रकम उठाउने गरेका छन् ।

    मधेश प्रदेशका अन्य जिल्लामा सशस्त्र प्रहरी मुख्यालयको परिपत्र अनुसार घुमुवा राख्न रोकिएको भए पनि सिरहामा घुमुवा खटाउने र अतिरिक्त असुली गर्ने धन्दा कायमै रहेकोमा मधेश प्रदेशका डीआइजी दीपेन्द्र शाहसम्म पनि भाग पुगेको त छैन भन्ने आशंका उब्जिन पुगेको छ । डीआइजी शाहले सिरहाका एसपी भारती मार्फत् पहिलेदेखि लाइन दिएको स्रोतको दाबी छ ।

    सिरहाका एसपी भारती अधिकांश समय मधेश प्रदेशकै विभिन्न जिल्लामा कार्यरत रहेको अभिलेख पाउन सकिन्छ । उनी सशस्त्र प्रहरी निरीक्षक हुँदा रौतहटस्थित तत्कालीन सीमा सुरक्षा कार्यालयमा कार्यरत थिए । रौतहटको इन्स्पेक्टरमा हुँदा नै उनी तस्करीको सेटिङ मिलाउने, घुमुवा परिचालन गर्ने जस्ता कार्यमा निपूर्ण भएका थिए । मधेश प्रदेशका जिल्लामा हुने तस्करीे र तस्करको बारेमा सम्पूर्ण जानकारी भएका भारती त्यसयता सेटिङ मिलाउँदै प्रायः तराईकै जिल्लामा कार्यरत छन् ।

    स्रोतका अनुसार सिरहाका बिभिन्न नाकाहरुबाट ओपेन्द्र, आजाद हुसेन मियाँ, प्रमोद, दरबीन, बिनोद यादव, मुकेश गुप्ता, बिजय यादब, राकेश लागायतका तसकरहरुबाट लाखौं रुपैयाँ महिनाबारी एसपी भारतीले उठाउने गरेका छन् । यस अघि खटाएका घुमुवा खङ्गलाई कारबाही गरी थन्काइएको छ ।

    सिरहाका एसपी प्रमोद भारतीको सेटिङमा तस्करी भइरहेको बिषयमा नेपालफेसले स्थलगत रिपोर्ट नै सार्वजनिक गरेपछि उनले ४ करोडभन्दा बढीका चोरीपैठारीका सामान बरामद गरेको समाचार प्रवाह गराएका छन् । तर ४ करोड रुपैयाँ भन्दा बढीको सामान भनेर ७ नम्बर गण सिरहाले सार्वजनिक गरे पनि भन्सार स्रोतले भने २ हजारको सामानलाई २० हजार मूल्यांकन गरी तथ्यांक सार्वजनिक गरेको बताएको छ । ७ नम्बर गण सिरहाले ४ करोडको सामान बरामद गरेको तथ्यांक सार्वजनिक गरे पनि ती सामान मुस्किलले १ करोड ५० लाखको समेत नभएको भन्सारका एक अधिकारीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार