Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभरीका गुप्तचर इन्चार्ज फेरिए, बदनामहरुलाई आकर्षक जिल्ला 


    बिहिबार, असोज १ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका देशभरीका जिल्लाका इन्चार्जहरुको सरुवा भएको छ । सरुवामा बदनामहरुले महत्वपूर्ण जिल्लाको अवसर पाएका छन् । गुप्चतर प्रमुख गणेश अधिकारीले क्षमताका आधारमा भन्दा चलखेल र सिफारिसको आधारमा सरुवा गरेको आरोप लागेको छ ।

    एसपी भूमि पाठकको काठमाडौंमा सरुवा भएको छ । उनी कास्कीमा कार्यरत थिए । चलखेलकै आधारमा उनले कास्कीबाट काठमाडौं सरुवा हुने मौका पाएका छन् । उनी कांग्रेस नेता गोविन्दराज जोशीका कार्यकर्ता हुन् । उनलाई जोशीले नै गुप्तचरमा भर्ना गरेका थिए । यसअघि उनी ललितपुर समेत बसेका थिए ।

     काठमाडौंका उत्तम खनालको चितवनमा सरुवा भएको छ । उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका भाइ हुन् । नवीन्द्र अधिकारीको रुपन्देहीबाट कास्कीमा सरुवा भएको छ । उनी नेकपा महासचिव विष्णु पौडेल निकट हुन् । उनको घर पोखरा नै हो । कार्यक्षमतामा कमजोर भए पनि उनले पटक–पटक महत्वपूर्ण जिम्मेवारी पाएका छन् । 
    कार्यसम्पादनमा २९ नम्बरमा रहेका विमल घिमिरेलाई मोरङमा पठाइएको छ । सप्तरीका तिलक प्रसाईलाई झापामा सरुवा गरिएको छ । उनी कोइराला परिवार निकट भएको आधारमा गुप्तचरमा भर्ना भएका थिए ।

    सुशान्त बराल पनि आकर्षक जिल्लाबाट आकर्षक जिल्लामै सरुवा भएका छन् । उनको झापाबाट रुपन्देही सरुवा भएको छ  । कैलालीका विकास पाण्डेको महेश बस्नेतको सिफारिसमा भक्तपुर सरुवा भएको छ । अभिनय सिंहको धनुषा तथा रमेश सिंहको कञ्चनपुरबाट कैलालीमा सरुवा भएको छ । भक्तपुरमा रहेका सुरेन्द्र कोइरालालाई धादिङ सरुवा गरिएको छ । कतिपय जिल्लाका इन्चार्जलाई एक वर्ष अवधि पुगे पनि सरुवा गरिएको छैन । प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपक खड्कालाई ललितपुर पठाइएको छ । दाङका टेकराज तिमल्सिनाको बाँकेमा सरुवा भएको छ । 

     डीएसपी कुमार बुढाथोकीको स्याङ्जाबाट लमजुङ, सुरेश तिवारीको लमजुङबाट स्याङ्जा, हेमकाजी गुरुङ पर्वतबाट मनाङमा सरुवा भएको छ ।

    सरुवामा चरम चलखेल गरेको भन्दै गुप्तचर प्रमुख अधिकारीको चर्काे आलोचना भएको छ । सत्तारुढ दलका नेताहरुको सिफारिसमा उनले सरुवा गरेको र यसले संगठनमा मनोबल खस्किएको गुप्तचर अधिकारीहरु बताउँछन् । अधिकारीले एआईजी र डिआईजीलाई समेत डेढ वर्षदेखि जिम्मेवारी नदिई फाजिलमा राखेका छन् । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार