गुल्मी । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको अर्थतन्त्र डुब्न थालेकाले निषेधाज्ञा हटाइएको बताएका छन् । उनले ६ महिनासम्मको लकडाउनले मुलुकको अर्थतन्त्रमा गिरावट अाएकाेले निषेधाज्ञा हटाइ कोरोनासँग जुध्ने र अर्थतन्त्रलाई चलायमान बनाएर कोरोना संकटलाई पार लगाउन सरकारले नयाँ ढंगबाट काम सुरु गरेको बताए ।
सरकारले यस अवधिमा कोरानाको बारेमा चेतना अभिवृद्धि गर्ने काम गरेकाले सामाजिक दुरी कायम गरी हरेक गतिविधि सञ्चालन गरी जोगिएर काम गर्न तम्घासमा पार्टी कार्यकर्तासँगको भेटमा मन्त्री ज्ञवालीले सर्वसाधारणलाई आग्रह गरे । अब स्वास्थ्य पनि जोगाउनुपर्ने र अर्थतन्त्र पनि बलियो पानुपर्ने चुनौतीलाई सामान गरेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो ।
मन्त्री ज्ञवालीले दैनिक ज्यालादारीमा काम गरी खाने मजदुर, किसानदेखि ठूला उद्योगसम्ममा आर्थिक संकट परेकाले निषेधाज्ञा हटाएर खुला गरिएकाले अब सबै नेपालीहरु सिपाही भएर कोरोनाविरुद्धको लडाइँ जित्नुपर्ने बताए ।
मन्त्री ज्ञवालीले संकटमा रहेको पाटी अहिले एकताबद्ध भएको दाबि गरे । ‘अब छिट्टै एकता महाधिवेशनमा जान्छौं, त्यसको लागि गाउँस्तरमा पार्टी एकतालाई बलियो पारी लैजान र सामाजिक सञ्जालमा पार्टीभित्र एकले अर्कोलाई कटाक्ष गरी टीकाटिप्पणी नगर्न पार्टी कार्यकर्तालाई उनले आग्रह गरे ।