Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी चल्ने


    बुधबार, भाद्र ३१ २०७७
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यातायात व्यवसायीहरु सहमत भएकाले भोलि असोज १ गतेबाटै लामो दूरीमा सार्वजनिक सवारी चल्ने भएको छ । बुधबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जान मानेका हुन् ।

    व्यवसायी र मन्त्रालयबीच साँझसम्म यातायात व्यवस्था विभागले बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि जारी गर्ने सहमति भएको छ । विभागले आज नै मापदण्ड सार्वजनिक गर्ने तयारी गरेको छ । 

    यसअघि मन्त्रिपरिषद बैठकले ५० प्रतिशत बढी भाढा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी लामो दूरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । 

    बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दुरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरे । बैठकमा सहभागी व्यवसायी तथा मजदुरहरुले सरकारलाई धन्यवाद दिँदै मापदण्डसहित कार्यविधि आएपछि सेवा दिन सकिने बताएका थिए ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई भोलि बिहान विश्वकर्मा पूजा गरेर सेवा सुरु गर्ने बताउँछन् । भोलि सवारीधनी र मजदुरको लागि विशेष दिन भएकाले यस्तो अवसरमा सेवा थाल्न पाएको खुसी व्यक्त गरे ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सेवा थाल्न यातायात व्यवस्था विभागबाट मापदण्डसहितको कार्यविधि पर्खिरहेको बताए । सरकारले तोकेबमोजिमको मापदण्डमा सेवा दिन आफूहरु तयार रहेको भन्दै उनले सरकारले सहजीकरण भने गर्नुपर्ने बताए ।

    व्यवसायी र मजदुरले मापदण्ड पालना भए नभएको अनुगमन गर्ने संयन्त्र पनि तयार राख्न सरकारलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार