Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता


    सोमबार, चैत्र १७ २०७६
    760
    Shares
  • ३ मिनेट पाठ
  • जाजरकोट । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ । नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

    कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थाप कोषमा रु २१ लाख रकम जम्म गर्ने, कर्मचारीको तलब पाइरहेको तलबबाट थप ५० प्रतिशत जोखिम भत्ता थप गर्ने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई रु तीन हजार जोखिम भत्ता दिने, नियमित काममा खटिने सुरक्षाकर्मीको उच्च मनोवल बनाउका लागि रु दुई हजार ५ सय खाजा भत्ता उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

    कोरोना रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि रु पाँच लाखको जीवन बीमावापतका लागि छुट्याएको छ । औषधि उपचारका लागि रु ५० हजारसमेत विनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिनुभयो । त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ । आवश्यक औषधि खरिद गर्न व्यवस्थापन गर्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

    वडा–वडाका समितिलाई थप प्रभावकारी बनाउ अनुगमन तथा निगरानी गरिने उहाँको भनाइ छ । बाँचेर मात्र संसार देख्न सकिने भएकाले नगरभित्र कोही, कसैले जुवातास, माछा मार्ने कामलगायतमा जम्मा भएर लकडाउनको पालना नगर्नेलाई हदैसम्मको कारवाही गर्ने प्रमुख रावलले जानकारी दिनुभयो । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको लगत सङ्कलन कार्य जारी रहेकाले सो कार्यको जानकारी दिन नगरवासीलाई आग्रह गरिएको छ । सूचना लुकाएर सबैलाई जोखिम तथा समस्यामा नपार्न उहाँको आग्रह छ । त्यस्तै जुनिचाँदे गाउँपालिकाले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँपालिकाका सबै नागरिकलाई साबुन बाँड्न लागेको छ । नलगाड नगरपालिकाले जस्तै देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हौसला दिन संघीय सरकारले सतप्रतिशत भत्ता र कम्तीमा ५० लाखको वीमा गर्नुपर्ने आवाज उठिरहेका छन् । रासस  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार