बलभद्रप्रसाद दास
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयागले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति बलभद्र दासबिरुद्ध पदको दुरुपयोग गरी ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा आर्जन गरेको ठहर गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको छ । दासले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीका सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ । दास २०५० असार २७ मा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०६८ पुस १७ मा उपकुलपति र तत्पश्चात सोही प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेका थिए । उनको सेवा प्रवेशदेखि २०७६ असार ३० सम्मको अवधिसम्म उनले ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको देखिएकाले उक्त रकम बराबर बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ ।
उनकी श्रीमती पुनम दास बिरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्र दास, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र अस्पतालाका पूर्वनिर्देशक डा अरविन्दकुमार सिन्हाले प्रतिष्ठानमा करोडौं करोड अनिमितता गरेका बिषयमा पटक पटक मिडियाले आवाज उठाउँदैआएका थिए ।
एमसिएच भवन पूर्व उपकुलपति दासले आफ्नो कार्यकाल सकिने बेलामा ठूलो रकम कमिसन लिएर ठेक्का लगाएका थिए । उनले सिनेटबाट स्वीकृत भएको लागत इस्टिमेटभन्दा कयौं गुणा महँगोमा ठेक्का दिएका थिए । सिनेटले उनको कार्यकालको अन्तिम बर्ष २०७५ मा ७६ करोड मात्र स्वीकृत दिएको थियो । तर, दासले भने कमिसनको लोभमा परेर २ अर्ब ४९ करोडमा ठेक्का दिएको खुलेको थियो । बजेट नै अर्थ मन्त्रालयले स्वीकृत नदिए पनि ठेकेदारबाट कुस्त घुस लिएर उनले ठेक्का दिएका थिए ।
उनीहरुले अक्सिजन र मेडिकल सामग्री खरीदमा पनि झण्डै २३ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । उनीहरुले प्रतिष्ठानभित्र अक्सिजन उत्पादन गर्ने आफ्नो मेसिन हँुदाहँुदै सो मेसिनलाई मर्मत गर्न छाडेर धरानकै औषधि व्यापारी चेतन अग्रवालको खनारस्थित दुर्गा अक्सिजन कम्पनीबाट दैनिक ६० देखि ७० हजार रुपैयाँसम्मको अक्सिजन खरीद गरेर कमिशन लिने गरेका थिए । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई दैनिक ६ देखि ८ ठूलो सिलिण्डरसम्म अक्सिजनको आवश्यकता पर्दछ । प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि तत्कालीन उपकुलपति दास र रजिष्ट्रार श्रेष्ठ र निर्देशक सिन्हाले अक्सिजन प्लान्ट नयाँ किनेका थिए ।
सार्वजनिक खरीद नियमावलीअनुसार कुनै वस्तुको खरीद गर्नुपूर्व त्यसको सम्भाव्यता अध्ययनका साथै उपयोग र खर्च गर्ने स्रोतको पहिचान गरी सार्वजनिक सूचना जारी गर्नुपर्छ । तर प्रतिष्ठानमा कुनै पनि प्रक्रिया पूरा नगरी भिसी दास र रजिष्ट्रार श्रेष्ठले आफू निकटको कम्पनीबाट प्लान्ट किने । तर प्लान्ट जोडेर उत्पादन गर्नु छाडेर झण्डै एक वर्षसम्म चेतन अग्रवालसँग नै खरीद गरी राखेर प्रतिष्ठानलाई झण्डै ४० लाख रुपैयाँ नोक्सान पु¥याएका थिए ।
पूर्व उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध एक बर्षअघि २०७६ असार ३० गते अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानबाट भएका खरिदमा बोलपत्रको तथ्यगत आधारबिनै स्वीकृति तथा सम्झौता गरी रकम निकासा गरेर भ्रष्टाचार गरेको मुद्दा अख्तियारले गतबर्ष दायर गरेको थियो ।