काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव महिनौंदेखि खाली छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो इशारामा चल्ने सचिवको खोजी गर्दा महिनौंदेखि मन्त्रालयमा शिक्षा सचिव रिक्त छ । युवा तथा खेलकुद सचिव रामप्रसाद थपलियालाई शिक्षामा सरुवा गरिए पनि उनलाई मन्त्री गिरिराजमणि पोखरलले नै अस्वीकार गरेका कारण विज्ञान तथा प्रविधि सचिव संजय शर्माले कामकाज गर्दैआएका छन् ।
त्यस्तै, शिक्षा मन्त्रालयमा ५ सहसचिवको दरबन्दी छ । तर १ मात्र सहसचिव कार्यरत छन् । मन्त्रालयमा ५ वटा महाशाखा छन् । तर सहसचिव भने दीपक शर्मामात्र छन् । प्रवक्ता दीपक शर्माले प्रवक्तादेखि प्राविधिक तथा ब्यवसायिक शिक्षा महाशाखा प्रमुखको काम समेत गर्दैआएका छन् ।
४ वटा महाशाखाको काम उपसचिवले सम्हाल्दैआएका छन् । सहसचिव रामशरण सापकोटा सामान्य प्रशासन मन्त्रालयमार्फत् मन्त्रालयमा थाहै नदिई पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) मा सरुवा भएका छन् । उनलाई आफूसँग सोध्दैनसोधी आयोजनामा सरुवा गरिदिएकोमा शिक्षामन्त्री पोखरेलले सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीसँग गुनासो समेत गरेको कुरा चर्चामा आएको थियो । केही दिनअघिसम्म सहसचिव कृष्णप्रसाद काप्री योजना तथा अनुगमन महाशाखाको प्रम्ुख थिए । उनी पनि केही दिनअघि २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भइसकेका छन् ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्र्रमा ४ सहसििचव कार्यरत छन् भने पाठ्यक्रम विकास केन्द्रमा १ सहसचिव छन् । मन्त्रालयमा भने एकमात्र सहसचिव छन् । सहसचिव नभएकाले योजना महाशाखा प्रमुखले गर्नुपर्ने अनलाइन शिक्षाको कार्ययोजना सचिव संजय शर्मा र एक उपसचिवलाई जिम्मा दिइएको थियो । विज्ञान सचिवलाई शिक्षातिरको मलोमेसो थाहा नभए पनि सहसचिव अभावमा उनलाई जिम्मा दिइएको थियो ।
त्यसैगरी, शिक्षक सेवा आयोगमा सचिव खाली छ । भाषा आयोगमा पनि सहसचिवको दरबन्दी भए पनि उपसचिवकै भरमा चलेको छ । युवा तथा खेलकुद मन्त्रालयमा शिक्षाको सहसचिव रिक्त रहेको छ । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०, प.नि.का.मा एक, शैक्षिक परीक्षण केन्द्रमा १, ब्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना(इभेन्ट)को प्रमुख पनि सहसचिव नै हुने पूावधान छ । तर इभेन्टमा पनि महिनौंदेखि सहसचिव रिक्त छ । राष्ट्रिय कितावखाना र राष्ट्रिय चिकित्सा आयोगमा पनि सहसचिव खाली छ । सबैमा उपसचिवलाई निमित्त दिइएको छ । शिक्षा मन्त्रालयमा सहसचिव किन बस्न मान्दैनन् भन्नेबारेमा मन्त्रालयका प्रवक्ता दीपक शर्माको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । शिक्षा मन्त्री पोखरेल पनि पटक पटक प्रयास aगर्दा पनि सम्पर्कमा आएनन् ।