डा. गुणराज लोहनी र विशाल पण्डित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक ब्यक्तिको स्वार्थपूर्तिका लागि आवश्यकै नभएको ठाउँमा १२ औं तहको दरबन्दी सृजना गर्ने तयारी गरेको छ । ४० लाख रुपैयाँ पर्ने उपकरण २ करोडमा खरिद गरी भ्रष्टाचार गर्ने डा. गुणराज लोहनीलाई १२ औं तहमा बढुवा गर्नका लागि वीर अस्पतालमा १२ औं तहको दरबन्दी सृजना गर्न स्वास्थ्य मन्त्री भानुभक्त ढकालमाथि चर्को दबाब परेको छ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा कर्मचारी सरुवामा चुडामणि भण्डारीसँग मिलेर घुस असुली गरेपछि विवाद भएको थियो । पछि तत्कालीन स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले लोहनीले गरेका विवादित सरुवा रद्द गरेका थिए । तिनै लोहनीले आवश्यकै नभएको ठाउँमा १२ औं तहको दरबन्दी सृजना गरी बढुवा गर्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालमार्फत् स्वास्थ्यमन्त्री ढकाललाई चर्को दबाब दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयमा हाल १२ औं तहका तीन वटा दरबन्दी छन् । जसमा डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठ कार्यरत छन् । सिंह स्वास्थ्य सेवा विभागको महानिर्देशक छन् । तर डा. लोहनीे प्रचण्डसँग रुवाबासी गरी दरबन्दी थप गरी सचिव बढुवा गर्ने दाउमा छन् । ११ औं तहमै अढाई बर्ष कनिष्ठ लोहनी बरिष्ठहरुलाई उछिनेर सचिव हुने चलखेलमा लागेका छन् । अढाई बर्ष कनिष्टलाई सचिव बनाएर मनोबल गिराउने पक्षमा मन्त्री ढकाल छैनन् । तर लोहनीले खुमलटारबाट दबाब बढाएको बढायै छन् ।
४० लाख पर्ने मेसिन २ करोडमा खरिद
स्वास्थ्य सेवा विभागले २०७६ जेठ १ मा टेण्डर गरी १२८ स्लाइसको सीटी स्क्यान मेसिन १ थान, अल्ट्रासाउन्ड मेसिन २ थान, इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ २ थान खरिद गरेको थियो । यी तीनै उपकरण खरिद गर्दा प्रचलित मूल्यभन्दा तीन गुणसम्म बढी भुक्तानी दिएर भ्रष्टाचार गर्ने कार्यमा डा. लोहनी र सुरेन्द्र चौरसिया सामेल रहेका थिए । यी तीन उपकरणमध्ये अटोक्लेभको ४० लाख बजार मूल्य भए पनि २ करोडमा खरिद गरिएको ,थियो । डा. लोहनी र चौरसियाले यी तीनै उपकरण विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेज र लाइफलाइन ट्रेड इन्टरनेशनलबाट खरिद गरेको थिए । लोहनीले महानिर्देशक हुँदा खरिदमा कसरी भ्रष्टाचार गरेका रहेछन् भन्ने दृष्टान्त ४० लाखमा पाइने अटोक्लेभ २ करोडमा खरिद गरेबाटै स्पष्ट हुन्छ ।
उपकरण खरिदमा भएको यस्तो नांगो भ्रष्टाचारका बिरुद्ध अख्तियारमा कयौं उजुरी पनि परेका छन् । तर आपूर्तिकर्ता हस्पिटेकका संचालक विशाल पण्डित र पुष्कर पण्डित दाजुभाइले अख्तियारमा समेत सेटिङ गरी मिलाउने गरेका छन् । डा. लोहनीलाई सचिव बनाउनका लागि आवश्यकै नभएको वीरमा दरबन्दी सृजना गरी १२ औं तहमा बढुवा गराउन तिनै पण्डित आवश्यक परे पैसाको खोलो नै बगाउन अग्रसर भएर लागेका छन् । करिब डेढ बर्ष सचिव हुने हिसाबकिताव गरी त्यस अवधिमा अरबौंको उपकरण किनाउन सकिने पण्डित लोहनीलाई सचिव बनाउने खेलमा लागेका छन् ।
अहिले पनि डा. लोहनीले स्वास्थ्य सेवा विभाग र ब्यवस्थापन महाशाखाका हाकिम चुडामणि भण्डारीमार्फत् सेटिङ गर्दैआएका छन् । डा. लोहनीले मन्त्रालयमा मिलाउने र तल खरिदमा ब्यापारीसँग घुसको सेटिङ चुडामणिले मिलाउने गरेका छन् । कोभिड–१९ को महामारीमा स्वास्थ्य सामग्रीको ब्यापारमा नयाँ नयाँ आएका ब्यापारीसँग करोडौंको खरिदको सेटिङ गर्ने कार्य उनले गरेका छन् । नयाँ ब्यापारीबाट घुस बढी आउने भएपछि गुणस्तर र अनुभव नै नहेरी करोडांैको सेटिङ चुडामणिले गर्ने र मन्त्रालय लोहनीले मिलाउने गरेको विभागकै अधिकारी बताउँछन् ।विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र ब्यवस्थापन महाशाखा प्रमुख डा..रमेश खरेललाई चुडामणिले निकम्मा सावित गरिदिएका छन् । सबै डिल उनैबाट हुने गरेको छ ।
हरेक बर्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयमा उपकरण र मेसिन खरिदमा ठूलो भ्रष्टाचार भएको उल्लेख हुन्छ । तर त्यो प्रतिवेदनले औंल्याउँछ, तर उपकरण खरिद र मर्मतमा हुने गरेको भ्रष्टाचार झन् बढिरहेको छ ।