कास्की। गण्डकी प्रदेशमा आज १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये बागलुङ बडिगाडका दुई जना विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् भने कास्कीमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पोखरा महानगरपालिका–४ र १७ मा संक्रमित भेटिएका ७ व्यक्ति प्रहरी हुन् । जिल्ला प्रहरी कार्यालय समेत रहेको वडा–४ का ५ प्रहरीमा संक्रमण देखिए पनि ती जिल्लामा कार्यरत प्रहरी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले बताएका छन् ।
उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरतहरूको विवरण जिल्लाबाट गएकाले जिल्ला प्रहरी कार्यालयअन्तर्गत संक्रमण देखिएको हो ।
यस्तै थपिएका संक्रमितमा पोखरा–२३ मा एक जना, १४ मा तीन महिलासहित ६ जना र वडा–७ र ८ मा एक–एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
