Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत प्राधिकरणमा कुलमान दोहोरिएलान् कि सुशिल ज्ञवाली आउलान् ?


    आइतबार, भाद्र २८ २०७७
    645
    Shares
    Basu Dev Paudel
  • ७ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज पूरा हुँदैछ। लोडसेडिङले ग्रस्त नेपाललाई लोडसेडिङबाट मुक्त गराउने अभियानको नेतृत्व गरेका कुलमानले पुनर्नियुक्ति पाउने चर्चा चलेपनि आइतबारसम्म यसमा कुनै ठोस निर्णय हुन सकेको छैन ।

    यसको असर स्वरुप सोमबारदेखि नेपाल विद्युत प्राधिकरणको नेतृत्व पद रिक्त हुँदैछ। कार्यकारी निर्देशकको अनुपस्थितिमा बहालवाला उपकार्यकारी निर्देशक हरराज न्यौपाने र हितेन्द्रदेव शाक्यमध्ये एक जना कार्यवाहक हुने सम्भावना छ। तर नेपाल विद्युत प्राधिकरण जस्तो संस्थामा एक व्यक्तिले कति फरक पार्न सक्ने रहेछ भन्ने विषय प्रष्ट भैसकेको छ । यस्तोमा सरकारले यसबारे निर्णय गर्न ढिलाई गरेसँगै अनेक आशंका उब्जन थालेको छ । 

    विशेषगरी अबका दिनमा पनि विभिन्न बहानामा विगतको झैं लोडसेडिङ नै व्योहोर्नु पर्ने हो कि भन्ने आशंका सर्वसाधारणमा देखिएको छ । सोहीकारण अहिले सामाजिक सञ्जालमार्फत् कुलमानको कार्यकाल थप्‍न सरकारलाई व्यापक जनदबाब दिइरहेका छन् । तर सरकार भने यो विषयमा अहिलेसम्म खुलेर प्रस्तुत हुन सकेको छैन ।

    पछिल्लो समय भने प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई दोहोर्‍याउन सकारात्मक नभएको चर्चा चलेको छ । प्रम ओलीले प्राधिकरणमा सुशिल ज्ञवालीलाई ल्याउन चाहेकाले नै कुलमानलाई दोहोर्‍याउने विषयमा उनी सकारात्मक हुन नसकेको बताइएको छ । ज्ञवाली अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख पदमा छन् । 

    यस्तो छ ज्ञवाली फ्याक्टरको नालीबेली

    सुशिल ज्ञवालीले राष्ट्रिय पुन: निर्माण प्राधिकरणमा दुईपटक नेतृत्व गरिसकेका छन् । ज्ञवाली फ्याक्टरको कारण पनि यो पटक कुलमान प्रकरण पेचिलो बनेको जानकारहरुको मत छ । 

    प्रम ओलीले राष्ट्रिय पुन: निर्माण प्राधिकरण गठन गरेसँगै त्यसको सीईओ पदमा ज्ञवालीलाई नियुक्त गरेका थिए । ज्ञवालीलाई  प्रचण्ड प्रधानमन्त्री हुँदा बर्खास्त गरेका थिए । तत्कालिन प्रम प्रचण्डको सो निर्णय विरुद्ध ज्ञवाली सर्वोच्च अदालत समेत पुगेका थिए ।

    पछि प्रम ओली पुन: प्रधानमन्त्री भएपछि ज्ञवालीलाई दोस्रोपटक प्राधिकरणमा नियुक्त गरेका थिए । 

    सोहीकारण पनि ज्ञवाली अहिले प्रचण्डका प्रिय पात्र कुलमानको ठाउँमा आफू आउन चाहिरहेका छन् । प्रम ओलीको पनि यस्तै मत रहेको बताउनेहरुको संख्या पनि कम छैन ।  

    सकिएकै हो कुलमानको सम्भावना ?

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका विषयमा मन्त्रिपरिषद्‍बाट निर्णय गर्नुपर्ने प्रावधान छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव पेश हुने र निर्णय हुने आँकलन गरिएको थियो । तर सो आँकलन विपरित बैठकमा सो प्रस्ताव नै पेश भएन ।

    मन्त्रिपरिषद्को अर्को बैठक सोमबार बस्दैछ । तर कुलमानको कार्यकाल आइतबार साँझ नै सकिँदैछ । सोहीकारण पनि कुलमान दोहोरिने सम्भावना कम रहेको विश्लेषण भैरहेको छ । तर सरकारले चाहेमा सोमबारको बैठकमा प्रस्ताव पेश गरेर पनि उनको कार्यकाल बढाउन भने सक्छ ।  

    कुलमानको पक्षमा माहोल

    कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउँदा नेपालका प्रधानमन्त्री थिए नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। उनको कार्यकालमा नियुक्त भै राम्रो काम गरेकाले पनि प्रचण्ड यतिबेला कुलमानलाई प्राधिकरणको नेतृत्वमा दोहोर्‍याउनु पर्ने लाइनमा छन् । उनले यो विषयमा प्रधानमन्त्री ओलीसँग स्पष्ट भनाई राखिसकेका छन् । 

    प्रचण्डमात्र होइन, कुलमानको कामको साक्षी आम जनमानस नै रहेका छन् । यसअघि प्राधिकरणको नेतृत्वमा रहेकाहरुले माग र आपूर्तिको काल्पनिक आँकडा देखाएर दैनिक १८ घण्टासम्म लोडसेडिङ गराएको र कुलमान आएसँगै यसको अन्त्य भएकाले पनि आम जनमानसको समर्थन कुलमानको पक्षमा छ । यस्तोमा उनको कार्यकाल नथपिएमा सरकारको चौतर्फी आलोचना हुने निश्चित छ ।

    तर आगामी सोमबार नै पनि कुलमान नियुक्तिको निर्णय भए पनि त्यसलाई परिपक्क हुन भने तीन दिन लाग्छ। त्यसपछि मात्रै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिन्छ। त्यसकारण प्राधिकरणमा घिसिङकै निरन्तरता भएपनि उनले करिब एक हप्ता घरमै आराम गर्ने छन्।

    कुलमानलाई दोहोर्‍याउन किन आनाकानी ?

    विद्युत प्राधिकरणको जिम्मेवारीमा आएका कुलमानको कार्य सम्पादन छर्लङ्ग छ । उनकै योजनाका कारण निरन्तर घाटामा गैरहेको नेपाल विद्युत् प्राधिकरण अहिले अर्बौ नाफा कमाउन थालेको छ । तर पनि उनलाई दोहोर्‍याउन आनाकानी भएकोमा आम जनमानस अलमलमा परेका छन् । 

    कुलमानले कार्यकारी निर्देशक पदमा पुनर्नियुक्ति पाएको खण्डमा उनको कार्यकाल थप चार वर्षको लागि हुने व्यवस्था छ। सरकारले कार्यसम्पादन मूल्यांकनमा असफल भएको खण्डमा भने कार्यकारी निर्देशकलाई बीचमै बर्खास्त गर्न सक्छ। तर पनि प्रम ओली भने कुलमानलाई एक वा दुई वर्षको लागि मात्रै पुनर्नियुक्त गर्न चाहेको खबरहरु बाहिरिएको छ । त्यसका लागि नियमावली नै परिवर्तन गर्नुपर्ने हुन्छ ।  

    यस्तैगरी कुलमान स्वयं पनि पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चित बनेका हुन् । उनले दोस्रो कार्यकालका लागि नयाँ कार्ययोजना रहेको बताइरहेका छन् । तर पनि उनलाई नियुक्ति दिने विषयमा भैरहेको आनाकानीका कारणमा भने अनेक अड्कलबाजी चलिरहेको छ । 

    कुलमानलाई किन रुचाएनन् प्रधानमन्त्रीले ?

    प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषयमा नेगेटिभ हुनुको कारणबारे अनेक अड्कलबाजी चलिरहेको छ । पहिलो कारण भने कुलमानलाई प्रचण्डले समातेको कारण रहेको जानकारहरु बताउँछन् ।

    दोस्रोमा भने कुलमानको चर्चा र क्रेज पनि कुलमानको नियुक्तिको बाधक रहेको आम जनमानसको आँकलन रहेको छ । यतिबेला नेपालमा राम्रो काम गरेर चर्चा हुने व्यक्तिको सूची बन्यो भने जनस्तरले पहिलो नम्बरमा कुलमान नै राख्‍ने सम्भावना छ । तर प्रम ओली र उनका आसेपासेलाई यो कुरा मन नपरेको चर्चा चल्ने गरेको छ । 

    तेस्रो तथा मूल कारण भनेको चाहिँ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) रहेको बताइन्छ । एमसीसीबाट आउने अर्बौंको सहयोग नेपालको विद्युत प्रशारण लाइन निर्माणमा खर्च हुने पक्का छ । यो परियोजनाबाट आउने पैसाले विद्युत क्षेत्रको कायापलट हुने विश्लेषकहरु बताउँछन् । 

    यस्तै पछिल्लो समय नेपालमा विद्युतको उत्पादन पनि बढिरहेको छ । अबका केही समयमा नै नेपाल विद्युत निर्यात गर्ने राष्ट्र बन्ने संघारमा छ । यी सबै काम सम्पन्न भएमा कुलमान अहिलेभन्दा पनि अझै बढी चर्चित हुने पक्का छ ।

    तर प्रम ओली भने यो कामको श्रेय आफैं लिन चाहिरहेको चर्चा चल्ने गरेको छ । यसका लागि आफ्नो प्रिय पात्र सुशिल ज्ञवालीलाई नियुक्ति दिएर यी सबै कामको श्रेय लिन पाउँछु भन्ने आश रहेकै कारण ओलीले कुलमानको पुनर्नियुक्ति नचाहेको बताउनेहरुको भनाई नै सत्य साबित भैरहेको चर्चा चलेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार