Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण विदेशमा २४३ नेपालीको मृत्यु


    आइतबार, भाद्र २८ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शनिबार साँझसम्म विदेशमा २  सय ४३ जना नेपालीले ज्यान गुमाइसकेका छन्। 

    विदेशमा यो साता मात्रै थप ४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए।

    गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ।

    यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्रसिंह राजपुतले जानकारी दिए। यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।

    स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ। समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना–१९ बाट सङ्क्रमित छन्।

    कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।

    कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ। यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन् । नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८ दशमलव सात प्रतिशत रहेको छ।

    साउदीमा ६० शव अलपत्र

    साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।

    साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार