दाङ । होटेलको सञ्चालिकाले चक्कुले हान्दा रक्सीले मातिएका प्रहरी हवल्दार घाइते भएका छन् । दाङको घोराही प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री घाइते भएका हुन्।
ती प्रहरी हवल्दारले होटेलमा बसेर मदिरा खाएको र साहुनीलाई जिस्काउन जाँदा हात हालाहालको स्थिति आएको बताइएको छ ।
टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती प्रादेशिक अस्पतालमा उपचार भएको छ ।
प्रहरीका अनुसार घटना शनिबार बेलुकाको ७ बजेतिर घटेको हो। जिल्ला प्रहरी कार्यालय घोराहीको गेटअगाडि होटल गर्ने महिलाले होटेलभित्रै ती प्रहरी हवल्दारलाई शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेकी हुन्।
घाइते प्रहरी हवल्दार खत्री, चक्कु प्रहार गर्ने होटल साहुनी र अर्का एक जना गरी तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थाहा भएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।