काठमाडौं । कारोनाको महामारीका कारण हालसम्म विदेशमा २४३ नेपालीको मृत्यु भएको छ । कोभिड १९ का कारण यो साता मात्रै ४३ जना नेपालीको मृत्यु भएको छ ।
गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जना नेपालीको कोरोनाको कारण ज्यान गएको साउदीमा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गएको छ ।
यस्तै गएको साता कतारमा पनि थप दुई जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोनाबाट २४३ नेपालीको ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा। सञ्जिव सापकोटाले जानकारी दिएका छन् ।बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका हुन् ।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।