Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ : पूर्वराष्ट्रपति यादव


    आइतबार, भाद्र २८ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • टेक्सस (अमेरिका) । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताउनुभएको छ । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताउनुभयो । उहाँले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

    नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको बताउँदै उहाँले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहनुभएका नेपालीहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व राष्ट्रपति डा यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरुको अवस्था, उम्मेदवारहरुका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताउनुभयो ।

    हरेक निर्वाचन प्रणालीभित्र राम्रा र नराम्रा विषयहरु रहने भन्दै उहाँले प्रणालीका कारणभन्दा पनि पात्रका कारण निर्वाचन पदतिमै असर पर्ने गरेको देखिएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रीत हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको उल्लेख गर्नुभयो । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले परिवर्तनलाई संस्थागत गर्ने संवाहकको रूपमा रहेको निर्वाचन पैसा, बल र शक्तिका कारण प्रभावित हुने अवस्था आउनु दुःखको विषय भएको बताउनुभयो । आयोजक केन्द्रका अध्यक्ष डा राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा राजनिति शास्त्री प्रा डा कृष्ण खनाल, कांग्रेसका नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, एनपी साउद, डा चन्द्र भण्डारी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, रत्ना शेरचन, सरिता प्रसाईँ, प्रदीप पौडेल, प्रमिला राई, अर्थशास्त्री डा सुरेन्द्रराज देवकोटा, डा आमोद पोखरेल, पत्रकार युवराज घिमिरे, भगीरथ योगी, तरुण पौडेल, डा सुमन पराजुलीलगायतले नेपालमा निर्वाचनको क्रममा बढ्दै गएको बेथितिलाई जति सक्दो चाँडो अन्त्य गर्नका लागि सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार