नयाँ दिल्ली । पछिल्लो समय चीन र भारतबीचको सम्बन्ध सुधार हुने सम्भावना देखिएको छ । यो क्रममा चीनले पाँच भारतीय नागरिकलाई भारतको जिम्मा लगाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यही महिनाको सुरुमा अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रबाट हराएका भारतीय नागरिकलाई चिनियाँ सेनाले शनिबार बिहान जिम्मा लगाएको हो ।
चिनियाँ सेनाले भारतीय अधिकारीलाई आफ्नो क्षेत्रमा बोलाएर ती नागरिक जिम्मा लगाएको सैनिक स्रोतको हवला गर्दै एनडीटीभीले जनाएको छ।
‘चिनियाँ जनमुक्ति सेनाले अरुणाञ्चल प्रदेशका युवाहरू भारतीय सेनालाई सम्पिने निश्चित गरेको छ’, केन्द्रीय मन्त्री किरण रिजिजूले शुक्रबार ट्वीटर मार्फत् भनेका थिए, ‘उक्त कार्य भोलि सेप्टेम्बर १२ मा जुनसुकै समय भनिएको स्थानमा हुनेछ।’
सेप्टेम्बर १ देखि हराइरहेका ती पाँचै जना शिकारी भएको भारतीय सेनाले वक्तव्य जारी गर्दै बताएको छ।