भक्तपुर । भक्तपुरको मध्यपुरठिमीमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको हो । मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जना सदस्यको आफ्नै घरमा शव भेटिएको छ ।
३६ वर्षीय सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृत अवस्थामा भेटिएका छन् । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन्। प्रहरीका अनुसार केही दिन पहिले नै घटना भएको देखिन्छ । मृतकका शव गन्हाएको अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा हत्यापछि विष सेवन गरेर आत्महत्या गरेको देखिए पनि यसबारे यकिन विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्राप्त हुने छ ।