काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी फुटपाथ र ठेला व्यापार खुलेकोमा असन्तुष्ट भएकी छिन् । उनले यी व्यापार बन्द गर्नु पर्ने भन्दै काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै यी व्यापार बन्द गराउन माग गरिन् ।
पछिल्लो समय सरकारद्वारा जारी गरिएको लकडाउन र निषेधाज्ञाको कारण सबैभन्दा मारमा यस्तै साना व्यापारी परेका छन् । दैनिक रुपमा कमाउँदै परिवारको गुजारा चलाउने उनीहरु मर्कामा परेको भन्दै सर्वसाधारणले समेत चिन्ता गरिरहेका छन् ।
तर उपमेयर खड्गी भने यसको विरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय नै पुगेकी हुन् । उनले महानगरबाट फुटपाथ पसल ने हटाउनु पर्नेमा व्यापार खुला गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाइन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ’ भनिएको छ ।
उपमेयर खड्गीले फुटपाथ र ठेला व्यापारको कारण कोरोना संक्रमणको जोखिम समेत रहेको दावी गरेकी छिन् ।
ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यो आदेश सहरी सौन्दर्य र व्यवस्थापनमा प्रतिकुल गराउने उद्देश्यले जारी नगरिएको बताउँदै भने, ‘महामारीका समयमा यस पेशामा बसेर काम गर्ने मानिसहरुलाई परेको समस्या खुकुलो बनाउन खोजिएको हो । अहिले महानगरबाट औपचारिक रुपमा ध्यानाकर्षण भएको छ । अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा यस सम्बन्धि छलफल गरेर निर्णयमा पुग्छौं ।’