काठमाडौं । काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन् ।
उपत्यकामा जारी निषेधाज्ञा स्थानीय प्रशासनले आजदेखि खुकुलो पारेसँगै राजधानीमा भीडभाड बढेको छ ।२१ दिनको लामो निषेधाज्ञा प्रशासनले खुकुलो गरेसँगै काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चलहपहल बढेको हो ।
तोकिएको समयअनुसार पसल खुल्न थालेका छन् भने सवारीसाधनको मापदण्ड अनुसार निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा चल्न थालेका छन् । प्रशासनले १६ सिटभन्दा बढी क्षमता भएका सावरीसाधनमा जोर–बिजोर प्रणाली लागु गरेको छ ।
स्थानीय प्रशासनले बिहान ११ बजेसम्म पसल खोल्न पाउने तथा साँझ ५ बजेपछि ७ बजेसम्म पुनः खोल्न पाउने कार्यतालिका सार्वजनिक गरेको छ । योसँगै फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरू, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन् ।
तालिका अनुसार व्यवसाय गर्न प्रशासनले सहज बनाएपछि निषेधाज्ञा खुलेको आज पहिलो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको हो । प्रशासनको तालिका अनुसार सवारीसाधन मर्मतसम्बन्धी वर्कसपहरू बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने छन् । काठमाडौँ उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो । उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बुधबार बसेको बैठकले काठमाडौंमा जारी निषेधाज्ञालाई खुकुलो गर्ने निर्णय गरेको थियो ।