चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सीएमसी) को शिक्षण अस्पतालमा बिहीबार एकजना कोराना संक्रमितको मृत्यु भएको छ । सीएमसीले निकालेको सूचना अनुसार निधन हुनेमा भरतपुर महानगरपालिका–११ का ६२ वर्षीय पुरुष रहेका छन् । उनी श्वासप्रश्वास सम्बन्धी समस्या भएका कारण भदौ १८ गते अस्पताल भर्ना भएका थिए । उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।
उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भेन्टिलेटरमा राखिएको थियो । उनलाई रेम्देसिभिर औषधि समेत दिइएको अस्पतालले जनाएको छ । उनको सवा १२ बजे निधन भएको हो । चितवनमा योसहित कोरोना संक्रमण देखिएका २४ जनाको निधन भएको छ । निधन भएकामध्ये १३ जना चितवनका छन् । चितवनमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का मात्रै ६ जना संक्रमितको निधन भएको छ ।