काठमाडौं । पछिल्लो पाँच महिनाको अवधिमा नेपालमा प्राकृतिक प्रकोपको विशेष प्रभाव रह्यो । यो अवधिमा देशभरमा कुल ३ सय ४६ जनाले ज्यान गुमाए भने ८५ जना बेपत्ता भएका छन् ।
यसरी मृत्यु हुनेमा २ सय ५० जना पहिरो, ३९ जना बाढी र ५७ जना चट्याङका कारण मृत्यु भएको हो । यो अवधिमा प्राकृतिक प्रकोपमा परेर ८५ जना बेपत्ता भएका छन् । यस्तै ३ सय ९७ जना घाइते समेत भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यो क्रम आजसम्म जारी रहेको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ ।
गएकाे २४ घण्टामा विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् । पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ काे भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् । यस्तै चार जना घाइते छन् ।
बाग्लुङकाे ताराखोला गाउँपालिका ३ काे सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो । गएको वैशाख १ गतेयता पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९, चट्याङका कारण ५७ जना गरी तीन सय ४६ जनाको ज्यान गएको छ ।
