बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा आएको बाढीले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप एक जनाको शव फेला परेको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ रामपुर स्थित वडिगाडखोलाको किनारमा अन्दाजी ३० बर्षिय महिलाको शव मंगलबार फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । हालसम्म मृतकको संख्या १८ पुगेको छ ।ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते राती आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार सोमबार फेला परेका दुई मध्ये एक शवको सनाखत भएको छ । शव बोवाङ्गको द्ववाल बस्ने वर्ष ३६ को हेमबहादुर बिक पहिचान भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । भेटिएका १८ मध्ये १७ शवको पहिचान भएको छ । २० जना अझैं बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् ।