काठमाडौं । यतिबेला कोरोना महामारीका कारण विश्व नै त्रसित छ । यो संक्रमणलाई जित्ने औषधि वा खोप अहिलेसम्म तयार नभएकाले पनि यो त्रास कायम रहेको हो ।
विश्वका ठूला राष्ट्रहरु पनि यतिबेला कोरोनासँग जुध्नका लागि औषधि र खोप निर्माणमा लागेका छन् । तर नेपालको आयुर्वेद प्रणालीले भने विश्वका यी प्रयासहरुलाई चुनौती दिइरहेको छ । विश्वका शक्तिराष्ट्रहरु कोरोना विरुद्धको एलोपेथिक औषधिको खोजमा लागिरहँदा भने नेपालमा आयुर्वेदको सामान्य औषधिले कोरोनालाई जितेको दावी गरिएको छ ।
आयुर्वेद शिक्षण अस्पतालअन्तर्गतको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले अहिले कोरोना संक्रमितको उपचारमा अद्भुद सफलता पाइरहेको छ । सो अस्पतालमा दुई सय बेड छ । सरकारले आयुर्वेदिक अस्पतालहरूलाई पनि स्वीकृति दिएसँगै वैशाखदेखि नै सो केन्द्र उपचार सुरु गरेको हो । केन्द्रमा हालसम्म पाँच सय सातजना संक्रमित भर्ना भएका थिए । जसमध्ये २ सय ८३ जना संक्रमित छोटो समयमै निको भएर घर फर्किसकेका छन् । ती संक्रमितहरु सात दिन वा त्यो भन्दा कम समयमा कोरोना मुक्त भएका छन् ।
१५ जना बिरामीमा थप स्वास्थ्य समस्या देखिएकाले अन्य अस्पताल रिफर गरिएको बताइएको छ ।
केन्द्रमा हाल ४० जना कैदीबन्दी गरी २ सय ८ संक्रमितको उपचार भइरहेको छ । अनुसन्धान केन्द्रका अनुसार उपचाररत सबै लक्षण नदेखिएका र सामान्य लक्षण देखिएका संक्रमित हुन् । राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका निर्देशक डा.रामआधार यादवका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रिफर गरेका बिरामीको हाल आयुर्वेदिक पद्धतिबाट उपचार भइरहेको छ ।
कसरी हुन्छ उपचार?
केन्द्रमा अहिले लक्षण देखिएका संक्रमितलाई मात्र रोग नियन्त्रक महाशाखाले उपचारका लागि पठाइने गरिएको छ । केन्द्रले बिरामीको स्वास्थ्य अवस्थाको आधारमा छुट्याएर प्रत्येक बिरामीलाई औषधिको माध्यमबाट उपचार गरिरहेको छ ।
बिरामीमा प्रयोग गरिने औषधि परम्परागत जडीबुटीबाट बनाइएको सामान्य औषधि भएको डा.यादव बताउँछन् । स्थानीय तर सामान्य जडिबुटीबाट नै केन्द्र औषधि बनाइ संक्रमितलाई दिइरहेको छ । मरिच, गुड्ची, पिपला र सुठोको मिश्रणबाट बनाइएको औषधि मात्र ती संक्रमितमा गरिएको छ ।
अनुसन्धान केन्द्रका अनुसार, अस्पताल भर्ना भएका ९० प्रतिशतभन्दा बढी बिरामी सात दिनमै पूर्णतया निको भएर घर फर्केका छन् । डा.यादव भन्छन्, ‘उपचार सुरु गरेको सात दिनमा पुनः परीक्षण गर्दा अधिकांश बिरामीमा नेगेटिभ देखिन्छ । यसबाहेक हामीकहाँ सघन स्वास्थ्य सेवा (आइसियू) उपलब्ध नभएकाले हालसम्म जम्मा नौजना संक्रमित मात्रै थप स्वास्थ्य समस्या देखिएर अन्य अस्पताल रिफर गरेका छौँ । यी सबै मिर्गौला, मुटु, श्वासप्रश्वाससँग जटिल समस्या र शल्यक्रिया गरेका बिरामी हुन् ।’
उपचार पद्धति
आइसोलेशनमा बस्दा सँगै उपचाररत संक्रमितमा समस्या देखिँदा अन्य बिरामीमा पनि त्रास बढेको पाइन्छ । लक्षण देखिएका संक्रमितको सम्पर्कमा बस्दा आफूलाई पनि लक्षण देखिने हो कि भन्ने मनोविज्ञानले असर पारिरहेको चिकित्सक बताउँछन् ।
सोहीकारण बिरामीको मनोविज्ञान उच्च राख्न केन्द्रले काउन्सिलिङ, म्युजिक थेरापी, योगा र मेडिटेसनको समेत अभ्यास गराउँदै आएको छ ।
संक्रमितमा प्रतिरोधी क्षमता सकेसम्म बलियो बनाउनका लागि केन्द्रलर् औषधिसँगै खानपान र व्यायाममा ध्यान दिइरहेको बताइएको छ । यी औषधिले संक्रमितको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने भएकाले यो उपचार पद्धति प्राकृतिक रहेको बताइन्छ ।