काठमाडौं, १३ चैत। नेपालको तेस्रो कोरोना भाइरस कोभिड १९ को संक्रमित व्यक्ति एयर अरेबियाको विमानमा नेपाल आएको पुष्टि भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएको उक्त एयरमा उनीसहित १७० यात्रु रहेको पाइएको छ ।
एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुष चैत ६ गते नेपाल आएका थिए । उनीसँगै विमानमा आएका तथा काठमाडौंका होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ ।
स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी-९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।
अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।