भक्तपुर । भक्तपुरमा एउटै परिवारका दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मध्यपुर थिमि नगरपालिका–७, नगदेश आमा र छोराको चार दिनको अन्तरमा मृत्यु भएको हो ।
पाटन अस्पतालमा उपचार गराइरहेका ४० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । उनी गत भदौ २ देखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए ।
यसअघि चार दिन अघि अर्थात् भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो । आमामा भने दमको समस्या रहेको तर छोरामा भने अहिलेसम्म कुनै स्वास्थ्य समस्या नरहेको अस्पताल स्रोतले बताएको छ ।
मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा नै कोरोना संक्रमण देखिएको छ । परिवारका अन्य सदस्यहरु होम आइसोलेशनमै रहेका छन् ।
योसँगै कोरोना संक्रमणको कारण भक्तपुरमा पाँच पुरुष र चार महिला गरी नौ जनाको मृत्यु भैसकेको छ ।