Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २९ करोडमा १५ शैय्याको अस्पताल मर्मत मात्रै !


    बुधबार, भाद्र १७ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • डोल्पा । कोरोना महामारीले देश भयावह अस्थामा रहेको समयमा डोल्पामा भने जिल्ला अस्पताल मर्मतको विषयलाई लिएर नागरिक विरोधमा उत्रिएका छन्। १५ शैय्याको जिल्ला अस्पताल स्तरोन्नति गर्ने क्रममा डीडीआर नै गलत भएको भन्दै नागरिकले विरोध गरेका हुन्।

    कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तरगत पर्ने जिल्ला अस्पताल स्तरोन्नतिका लागि संघीय सरकारले यस वर्ष दश करोड रकम छुट्याए पनि स्तरोन्नतिको साटो मर्मत मात्रै गर्न लागेको भन्दै नागरिकले विरोध गरेका हुन् । 

    स्वास्थ्य मन्त्रालयअन्तरगत एक कन्सलटेन्सीले डीपीआर गरेको जिल्ला अस्पताल डोल्पामा कुल २९ करोड १९ लाख बजेटमा स्तरोन्नति गर्ने बताएपछि टिनले छाएको एक तले टहरा मात्रै बनाउने भएपछि दीर्घकालिन भवन बनाइदिनुपर्ने भन्दै नागरिक समाज डोल्पाले विरोध गरिरहेको छ । 

    विभिन्न बहानामा डोल्पाका नागरिकलाई ५० शैय्याको अस्पताल बनाउन लागेको भनेर झुक्याएको भन्दै नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले आक्रोश व्यक्त गरे ।  बुढाले भने,’ २९ करोडमा पुरानै शैलीमा भवन निर्माण गर्न लागिएको छ र केही भवन पूरानै राखिने भएको छ, यो डोल्पाका नागरिकको स्वास्थ्यमाथि गरिएको धोका हो।’

    अस्पतालको डीपीआर नै गलत भएकाले तत्काल हेरफेर गरेर मात्रै अस्पताल निर्माण गर्नुपर्ने नागरिक समाज डोल्पाको माग छ । मेडिकल हिसाबले पनि अब बन्ने भवनहरु प्रयाप्त मात्रामा नभएकाले सेवा प्रभावकारी दिन नसकिने र भोलीका दिनमा पनि भुँइमा नै बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता हुने डाक्टर मछिन्द्र बडुवालले बताए । 

    यदि पचास शैय्याको अस्पताल निर्माण गर्ने हो भने डीपीआर हेरफेर गर्नुपर्ने स्वास्थ्य सेवा प्रमुख डाक्टर सजिन रावलले बताए । उनले भने ,’न्युनतम आवश्यक कोठा नै छैनन्। एक पटक मन्त्रालयले सोचेर अघि बढेको भए सबैको हित हुनेछ । ‘

    ‘हामीले बजेट चाहिएको छैन भनेका छैनौं, दीर्घकालिन भवन निर्माण हुनुपर्छ भनेका हौं, विकास पनि होस् र बजेटको सही सदुपयोग पनि होस् भन्ने हाम्रो भनाइ हो,’ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्रबहादुर रोकायाले भने। उनले भने,’ हामीले बजेटको विरोध गरेका छैनौं, तर केही कुरा अपुग छ एक पटक डीपीआर हेरफेर हुन जरुरी छ ।’

    नागरिक समाज डोल्पाले २९ करोडमा १५ शैय्यामा मर्मत गरेर पचास शैय्याको नाम जोडेको भन्दै तत्काल डीपीआर परिर्वतन गर्न माग गर्दै सबै निकायमा ज्ञापनपत्र बुझाएको छ । यदि सुनुवाइ नभए धर्ना,आन्दोलन समेत गर्ने चेतावनी नागरिक समाजले दिएको छ । 

    कुल २२३८७.५ वर्ग मिटर क्षेत्रफल रहेको जिल्ला अस्पतालमा एक तले ६ वटा जस्ताले छाएका भवन बन्ने भएका छन् । यसरी बन्ने भवन नै स्वास्थ्यका हिसाबले न्यनतम आधारभूत मापदण्ड समेत पूरा नगरेको भवनबाट आफूहरुले समेत सेवा सहजै दिन नस्कने भन्दै स्वास्थ्यकर्मी समेत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । 

    उता स्वस्थ्य निर्देशनालय सुर्खेत र समाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेत भने नागरिकको विरोधकाबीच पनि जिल्ला अस्पताल निर्माणको लागि टेण्डर खोल्ने तयारीमा रहेको छ । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा टेकबहादुर शाहीले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार