Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीको खरिदमा पुराना लखेटिंदै, नयाँलाई सेट गर्दै


    बुधबार, चैत्र १२ २०७६
    845
    Shares
  • ६ मिनेट पाठ
  • काठमाडौं, १२ चैत । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले देशभर लकडाउन घोषणा गरेको छ । नागरिकको जीउधनको सुरक्षार्थ प्रहरी सडकमा भोकैप्यासै तैनाथ छन् । कोरोनाको संक्रमणको त्रास एकातिर छ भने अर्कोतिर नागरिकको सुरक्षाको दायित्व पनि छ । यसरी दायित्व निर्वाह गर्ने प्रहरी एकातिर छन् भने अर्कोतिर प्रहरी प्रधान कार्यालयमा आइजीपी ठाकुर ज्ञवालीको आडमा खरिददेखि विभिन्न आकर्षक स्थानमा कसलाई कसरी सेटिङ गर्ने र फाइदा लिने भनेर लाग्नेहरु छन् । आइजीपीको कार्यकाल थोरै समयमात्र भएकाले यसबीचको समयमा के कसरी फाइदा लिने भन्ने एक तप्का लागेको छ । 

     नेपाल प्रहरीको आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपीकै नेतृत्वमा प्रहरीका खरिद प्रक्रियाको गुणस्तर परीक्षणदेखि सबै काम हुँदैआएको छ । तर नवनियुक्त आइजीपी ठाकुरप्रसाद ज्ञवालीका वरिपरिको समूहले आर्थिक प्रशासन महाशाखाका एसएसपी दीपककुमार थापालाई बाइपास गर्दै प्रहरीको सामानको गुणस्तर हेर्ने जिम्मेवारी एसएसपी वसन्त पन्तलाई दिएको छ । पन्तको नेतृत्वमा कानुनका समेत अधिकारी राखेर गुणस्तर हेर्ने जिम्मा दिइएको छ । यसअघि आर्थिक प्रशासन महाशाखाका प्रमुखले नै गुणस्तर हेर्ने गर्दथे । 
    प्रबन्धदेखि भण्डारको सेटै परिवर्तनको तयारी
    ज्ञवाली आइजीपी भएपछि प्रबन्ध निर्देशनालयको प्रमुखमा डीआइजी सूर्यप्रसाद उपाध्यायलाई लगिएको छ । भण्डार शाखाका डीएसपी मदन केसीलाई पनि त्यहाँबाट अन्यत्र सरुवा गर्ने तयारी भइरहेको छ । उनी इन्स्पेक्टरदेखि नै भण्डारमा कार्यरत छन् । उनी बुझबुझारथ गरी भण्डारबाट बाहिरिने बताइएको छ । भण्डारका सई श्याम कँडेललाई पनि सरुवा गरिसकिएको छ । भण्डारमा सईको समेत ठूलो चलखेल हुने गरेको छ । 

    ठेकेदारले सामान बुझाएपछि गुणस्तर चेक गर्न पठाउने क्रममा भण्डारका सईको मिलेमतोमा स्याम्पुल छनोट गर्दा सेटिङ हुने गरेको छ । ठेकेदारको सेटिङमा सबै पक्ष उपस्थित भएको समयमा गुणस्तरका लागि पठाउने स्याम्पल पिसको मुचुल्का गर्ने बेलामा राम्रो स्याम्पुल झिकेर पठाउने गर्दछन् ।

     सेटिङ भएका ठेकेदारको नमूना पास गराउनका लागि गुणस्तरमा राम्रो सामान पठाउने भूमिका भण्डारका सई र डीएसपीबाट हुने गरेको छ । विगतमा सुरेन्द्र सिंहको डीएमएस बुट पनि नमूना गुणस्तरमा पठाउँदा राम्रो पठाएर पछि गुणस्तरहीन जुत्ता बुझाएको काण्ड बाहिरिएको थियो । जुन जुत्ता बुझाइसकेपछि पुनः नमूना परीक्षणका लागि पठाउँदा गुणस्तर फेल भएको थियो ।  

     गुणस्तरमा राम्रो नमूना पठाएर सईले ठेकेदारबाट लाभ लिने गरेका छन् । तर सामान बुझाउने बेलामा भने गुणस्तरमा पेश गरेको नमूना अनुसारको पेश नगरी गुणस्तरहीन बुझाउने क्रम प्रहरीमा लामो समयदेखि चलिरहेको छ । यसरी भण्डारमा बस्ने सईले २ बर्षमा करोड कमाउने गरेको प्रहरी स्रोत बताउँछ । श्याम कँडेल अघिका भण्डारका सई एकनारायण भट्ट थिए । उनले भण्डारमा बसी ठेकेदारसँग सेटिङ गरी करोडौंको हेराफेरी गरेको गुनासोपछि उनलाई कालीकोट सरुवा गरिएको थियो । कालीकोट सरुवा भएपछि उनले भण्डारबाट गोली नै बोकेर जाँदा एयरपोर्टमा पक्राउ परेपछि निलम्बनमा परे । उनी जागिरबाटै बर्खास्तमा परेका थिए । उनलाई कालीकोट सरुवा गरिएपछि कँडेल आएका हुन् । 

    पूर्वआइजीपी सर्वेन्द्र खनालले आफू आइजीपी भएको भोलिपल्टै प्रबन्धमा ल्याइएका इन्स्पेक्टर केशवप्रसाद गौतमलाई पनि सरुवा गर्ने तयारी छ । उनी पनि प्रबन्धबाट बाहिरिने मनस्थितिमै रहेका छन् । यसरी परिवर्तन गर्ने तयारीलाई प्रहरीमा आइजीपी ज्ञवालीले अनियमितता नगर्ने र खरिद प्रक्रियामा पारदर्शी गर्न खोजेका हुन् कि ? यसो गर्दा प्रहरीले कपडा नै लाउन नपाउने अवस्था आउने हो कि भन्ने आशंका पनि छ ।

     
    आर्थिक प्रशासन महाशाखाका प्रमुख दीपककुमार थापादेखि भण्डारका डीएसपीदेखि सईसम्मको सेटै सरुवा गर्ने तयारी आइजीपी सचिवालयले एसपी भूपेन्द्र खत्री र महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीको योजनामा गर्न खोजेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार खरिद प्रक्रियामा पारदर्शीता कायम गर्न होइन,  खत्री र ज्ञवालीले प्रबन्ध, आर्थिक प्रशासन र भण्डारमा आफ्ना मानिस सेट गरी खर्च हुन नसकेको करिब २ अर्ब बजेटबाट ४ महिनाको बीचमा लत्ताकपडा लगायतका सामान खरिद गरी कुस्त कमिसन खानका लागि हो ।

    यसरी प्रबन्ध अन्तर्गतका आर्थिक प्रशासन र भण्डारमा सेट परिवर्तन गरी आफू अनुकूलका एसएसपी, डीएसपीलगायतको जनशक्ति ल्याउने योजनामा आइजीपी ज्ञवालीको सचिवालय लागेको छ । लत्ताकपडा खरिदमा भएको अनियमितता प्रकरण यही समयमा सार्वजनिक गर्ने काम पनि सचिवालयका एसपी खत्रीले नै गरेको प्रहरी स्रोत बताउँछ ।

    यसरी सर्वेन्द्र खनालका पालामा सामान खरिदमा भएको अनियमितता सार्वजनिक गरी आर्थिक प्रशासन, प्रबन्ध र भण्डारका अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् छानबिन गराउने दाउ खत्रीको छ । यी अधिकारीसँगै पूर्व आइजीपी खनाललाई पनि तानिने निष्कर्षका साथ खरिद प्रकरण मिडियामा सार्वजनिक गराइसकेका छन् । एसपी खत्री पूर्वआइजीपी खनालको कार्यकालमा पेलिएको प्रतिशोध लिने गरी अगाडि बढेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार