काठमाडौं, ११ चैत ।
कतारको दोहा हुँदै गएको चैत ४ गते क्यूआर ६५२ बाट नेपाल आएका यात्रुमध्ये एक १९ बर्षे युवतीलाई कोरोना भाइरस संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमा सोमबार दिए । तर ती युवतीको परिचय भने सार्वजनिक गरिएन । कोरोना भाइरसबाट संक्रमितको परिचय दिंदा समाजमा ऊ र उसको परिवार बहिस्कृत हुने सकारात्मक भावनाका साथ गोप्य राखिएको हुनसक्छ । कोरोना भाइरस संक्रमित ब्यक्तिको नाम सार्वजनिक गर्ने कि नगर्ने भन्ने बहस सामाजिक संजालमा सुरु भएको छ ।
ती युवती कहाँ कहाँ गइन्, चैत ४ देखि १० गतेसम्म ६ दिन कसकसलाई भेटिन् ? ती भेटिएकाहरु पनि त कोरोना संक्रमित भएको हुनसक्छ भन्ने कोणबाट बहस भइरहेको छ ।
यदि परिचय दिने हो भने ती युवतीले भेटेकाहरु पनि अस्पतालमा परीक्षण गराउन जान्छन् । अधिवक्ता राधिका खतिवडा लेख्छिन्–‘कोरोना संक्रमित पुष्टि भएको फ्रान्सबाट नेपाल आएकी युवतीको नाम सार्वजनिक गरिएमा ती युवतीलाई भेट्ने आफन्त परिवारजन साथीहरू आफैं सचेत भएर परीक्षणको लागि अस्पताल पुग्ने थिए र अन्य थप व्यक्तिमा सर्ने थिएन ।’
नेपालमा कोरोना भाइरस पोजेटिभ देखिएका ब्यक्तिको नाम गोप्य राखिन्छ । तर जर्मन चान्सलर एन्जेला मर्केलदेखि इंग्ल्याण्डका स्वास्थ्य मन्त्री नाडिन डोरिसलाई पनि यस भाइरसको संक्रमण भएको मिडियामै सार्वजनिक भयो । मर्केलका प्रवक्ताले नै उनलाई चिकित्सकबाट कोरोना भाइरस सरेको जानकारी दिएको भनेर मिडियाले लेखे ।
क्यानडाका राष्ट्रपति जस्टिन टेड्रउकी पत्नी सोफी ग्रेगोर टेड्रउलाई समेत कोरोनको संक्रमण भएको समाचार आयो । स्पेनका प्रधानमन्त्री पेड्रो सेन्चेजकी पत्नी बेगोना गोम्ज पनि कोरोना भाइरसको संक्रमणको शिकार बनेको कुरा बाहिर आयो । अस्ट्रेलियाका गृहमन्त्री पीटर डटनलाई कोरोना भाइरसको संक्रमण भएको समाचार पनि महत्वका साथ सार्वजनिक भएको थियो । फ्रान्सका संस्कृति मन्त्री फ्रैन्क रिस्टरलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो, उनी ठीक भइसकेका छन् ।
इरानकी महिला एवम् पारीवारीक मामलाकी वर्तमान उपाध्यक्ष मसूमेह एब्टेकरलाई कोरोना भाइरसको संक्रमण भएको बिषय सार्वजनिक भयो । तर नेपालमा भने कोरोना संक्रमितको नाम गोप्य राखिएको छ ।
यद्यपि चितवनको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएका बीरगंजका सन्तोष यादवको नाम सार्वजनिक गरिएको थियो । उनलाई कोरोनाको आशंकामा उक्त अस्पतालमा भर्ना गरिएको थियो । तर उनको मृत्यु कोरोना संक्रमणले नभएको अस्पतालले जनाएको छ । अस्पतालको विज्ञप्तिमा लुप्स भन्ने रोगले मिग्रौला समेत कमजोर भएकाले उनको मृत्यु भएको उल्लेख छ ।