Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति निर्वाचन: अब पुरुष उम्मेदवार हुन नपाउने


    शुक्रबार, फाल्गुन २६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नयाँ उपराष्ट्रपति पदमा निर्वाचन आयोगले अब पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

    आयोगको आज शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले भनेका छन्, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’

    उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता भोलि शनिबार हुँदैछ । निर्वाचन चैत ३ गते हुनेछ ।

    संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भनिएको छ ।

    एक आयुक्तका अनुसार शुक्रबारको निर्णयको प्रष्ट आशय उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता हुन सक्दैन । किनकी पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार हुनुपर्छ । साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन दर्ता गर्ने निर्णय छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार