काठमाडौं, ११ चैत । सरकारले मंगलबारबाट एक साताका लागि मुलुक ‘लकडाउन’ घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि मानिसबीचको सम्पर्कलाई कम गर्नेमात्र प्रभावकारी उपाय भएकाले सरकारले ‘लकडाउन’ घोषणा गरेको हो ।
यसैबीच, त्रिभुवन विश्वविद्यालयले सरकारको आवश्यकताका आधारमा सबै आंगिक क्याम्पस उपलब्ध गराउन सकिने जनाएको छ । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई लिखित प्रतिबद्धतापत्र दिँदै कोरोना संक्रमण हुनबाट बचाउन त्रिवि सबै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ, आजको समाचारपत्र दैनिकमा समाचार छ ।
देशभरका ६३ वटै आंगिक क्याम्पस र अन्य भवन जुनसुकै अवस्थामा प्रयोग गर्न दिन तयार रहेको उहाँको भनाइ थियो । उपकुलपति प्राडा बाँस्कोटाले भन्नुभयो– ‘हामीसँग कोरोना भाइरस संक्रमण परीक्षण गर्ने ल्याब छ, केही किट ल्याएर सरकारले जुनसुकै बेला परीक्षण गर्नसक्ने व्यवस्था मिलाएका छौं, त्रिवि परिसरका दुई ठूला भवनमा तत्काल क्वारेन्टाइन बनाउन सकिन्छ । त्रिवि आफ्ना कर्मचारीसमेत परिचालन गर्न तयार छ ।’