काकडभित्ता, १० चैत । भारतीय नाका पानीट्यांकीमा करीब तीन सय नेपाली अलपत्र परेका छन् । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गरेका उनीहरु भारत र नेपालको सीमाना बन्द भएपछि अलपत्र परेका हुन् ।
मन्त्रीपरिषद्ले आज बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्कने तथा विद्यार्थी छन् ।
त्यसै गरी नेपालका विभिन्न शहरबाट मजदूरी गरेर घर फर्कने करीब तीन सय भारतीय काँकडभिट्टा नाकामा अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिए ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको टोली काँकडभिट्टा नाका निरीक्षणका लागि आउँदै छन् । जिल्ला ट्रभाल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले सरकारले सही निर्णय गरे पनि समय छोटो भएका कारण नाकामा दुवै देशका नागरिक अलपत्र परेको बताए ।